राजनीति


ग्राउन्ड जिरो सर्लाही : गगनको आगमनले दबाबमा अमरेश, माहोल तताउन बालेनको प्रतीक्षा

सर्लाही–४ को चुनावमा शिवपुजन, उनका छोराछोरी र जातीय फ्याक्टर
ग्राउन्ड जिरो सर्लाही : गगनको आगमनले दबाबमा अमरेश, माहोल तताउन बालेनको प्रतीक्षा

लोकेन्द्र भट्ट
माघ १४, २०८२ बुधबार १२:५८, गोडैता, सर्लाही

नेपाली कांग्रेसका सभापति गगन थापाको आगमनले सर्लाही ४ को चुनावी माहोल गर्माएको छ। संसदीय राजनीतिमा कांग्रेसको दबदबा गरेको सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वतमान सांसद अमरेश सिंहको उम्मेदवारी र पूर्वसांसद शिवपुजन रायको पारिवारिक प्रभावले चुनावलाई रोचक मोड दिएको छ।

कांग्रेसका थापासँगै नेकपा एमालेबाट शिवपुजनका छोरा अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा)बाट रामेश्वर राय यादव चुनावी मैदानमा छन्। जनमत पार्टीबाट राकेश मिश्र उम्मेदवार बन्दा गत निर्वाचनकी स्वतन्त्र उम्मेदवार शिवपुजनकी छोरी मधुमाला पनि फेरि मैदानमा आएकी छन्। 

अहिले मुख्यतः कांग्रेस उम्मेदवार गगन थापा, रास्वपा उम्मेदवार अमरेश सिंह, एमाले उम्मेदवार अमनिश यादव जोडतोडले जनताको घरदैलोमा छन्। बाँकी उम्मेदवारले चुनावी अभियानलाई अहिलेसम्म गति दिनसकेको अवस्था छैन।

मतदातासँग गगनको पृथक शैली
कांग्रेसको आन्तरिक विवादलाई विद्रोहमा बदलेर पार्टी नेतृत्व हात पारेपछि थापा सर्लाही ४ मा उम्मेदवार बनेर आइपुगेका छन्। सोमबार दिउँसो मधेस प्रदेश झरेका थापा बाराको निजगढ, रौतहटको चन्द्रनिगाहपुर, पर्साको वीरगन्ज हुँदै सर्लाहीको मुक्तेश्वरदेव पुगेका थिए। त्यहाँ पूजाआजा गरेपछि थापाले मुर्तिया, बढतवा, हजारिया, सुन्दरपुर र धनकौलमा पार्टीका नेता–कार्यकर्तासँग छलफल गरेका थिए। मंगलबार बलरा, गोडैता, रामनगरका वडा टोलीसँग सामूहिक अन्तरसंवादमा थापाको समय बित्यो।

पहिलो चरणमा चार दिन आन्तरिक रणनीति बनाएर माघ १६ मा काठमाडौँ फर्किने थापाको कार्यतालिका छ। सभापति थापाले सर्लाही ४ का ५२ वडामै निर्वाचन परिचालन समिति गठन गरेर पार्टीलाई नै मैदानमा उतार्ने रणनीति बनाएका छन्। पहिलो चरणमा उनी आफ्ना कुरा सुनाउने भन्दा पनि कार्यकर्ता र मतदाताका कुरा सुनिरहेका छन्।

सर्लाही-४, गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्

कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सांसद वीरेन्द्र सिंहलाई साथमा लिएर थापा सर्लाही ४ का सबै पालिकामा छलफल गरी समस्या टिपोट गरिरहेका छन्।

थापाको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका विज्ञहरूको टोलीले पनि सर्लाही ४ को समस्या र समधानको उपायबारे गहिरो अध्ययन गरिरहेको छ। यसका अलावा सभापति थापाले पार्टी प्रवेशलाई प्राथमिकतामा राखेको पाइन्छ। सोमबार सर्लाही ४ का प्रभावशाली व्यक्ति शिवपुजनका भाइ महेन्द्र यादवसहितलाई उनले कांग्रेस प्रवेश गराए।

यस्तै, रास्वपा उम्मेदवार सिंहका निकटस्थहरूलाई नै उनले आफ्नो पक्षमा उभ्याएका छन्। डा रमेश सिंह, केदारनन्दन चौधरी, सीताराम सिंह, श्याम साह, अनिता यादव, राजनारायण कुशवाहा, मनोजप्रसाद सिंह, डा कमलेश सिन्हा अमरेशको साथ छोडेर कांग्रेस उम्मेदवार थापाको पक्षमा उभिएका छन्। थापा सर्लाही ४ मा उम्मेदवार रहेको सन्देश भुइँमान्छेसम्म पुगेको पाइन्छ। तर, भाषाको समस्याका कारण थापाको भाषण सबै जनाले बुझ्न सकेका भने छैनन्। 

तथापि, सर्लाही ४ मा नेता होइन, बेटा भएर आएको बताइरहेका थापाले आकर्षक बोली र प्रस्तुतिमार्फत मतदाताको ध्यान खिचिरहेका छन्।

बालेनको पर्खाइमा अमरेश
मंलगबार दिउँसो रास्वपा उम्मेदवार सिंहलाई पछ्याउँदै नेपालखबरको टोली गोडैता पुग्दा उनी एक घरमा कार्यकर्तासँग गफ गरिरहेका थिए। बेलाबेला फोनमा कुरा गरिरहेका सिंहको वरिपरी केही मानिस जम्मा थिए। उनको गाडीमा रास्वपाले प्रधानमन्त्रीका लागि अगाडि सारेका बालेन साहको तस्बिर थियो भने कार्यकर्ता रास्वपाको चुनाव चिन्ह घण्टी अंकित निलो टिसर्टमा थिए।

सर्लाही ४ मा कुनै पनि पार्टीका सभापतिले चुनाव जितेको इतिहास नरहेको भन्दै सिंह कांग्रेस सभापति थापा तेस्रो हुने विश्लेषण सुनाइरहेका थिए। तर, प्रस्तुति र मनोबल हेर्दा उनी थापासँगको प्रतिस्पर्धाबाट त्रसित देखिन्थे। सभापति थापाको चुनावी अभियानमा देखिएको उपस्थितिले उनलाई झस्काएको बुझ्न गाह्रो थिएन।

सिंहले थापासँग देखिएको भीड सर्लाही ४ को नभएको दाबी गरे। कार्यकर्ता र मिडियासँगको कुराकानीमा सिंहको निसाना खालि थापमाथि केन्द्रित देखिन्छ। प्रत्येक दिन बिहान ७ बजे नै घरबाट चुनावी अभियानमा निस्किने सिंह आफ्नो पक्षमा माहोल खडा गर्न बालेनलाई सर्लाही ४ मा ल्याउने योजनामा छ।

सिंहको चुनावी टोलीका सदस्यहरू पनि बालेनलाई कुनै पनि हालतमा सर्लाही ४ मा घुमाउनुपर्ने बताइरहेका छन्। बालेनले एक दिनभरि सर्लाही ४ घुम्ने तयारी भइसकेको भन्दै सिंहले त्यसबाट थापातिर ढल्किएको चुनावी माहोल फर्किनेमा आश्वस्त तुल्याइरहेका छन्।

सर्लाही ४ का सबैजसो पालिका पुग्दा अमरेशको नामसँग मतदाता परिचित सुनिए पनि थापाको आगमनले उनी दबाबमा परेको भान हुन्छ। बालेनप्रति आशावादी सुनिएका सर्लाही ४ का केही युवा मतदाता अमरेशको १२ वर्षको संसदीय प्रस्तुतिबाट सन्तुष्ट भेटिँदैनन्। विकास निर्माणको काम सिंहले गर्न नसकेको उनीहरूको गुनासो छ।

शिवपुजनका छोराछोरी र जातीय फ्याक्टर
सर्लाही ४ मा दलबदलमा खप्पिस शिवपुजन यादवको व्यक्तिगत प्रभाव जबर्जस्त देखिन्छ। २०६४ मा तत्कालीन जनअधिकार फोरमबाट सर्लाही ४ मा निर्वाचित शिवपुजनले सबैजसो निर्वाचनमा निर्णायक मत होल्ड गर्छन्। आफ्नो राजनीतिक यात्रामा पूर्णविराम लागेपछि उनले ०७९ मा छोरीलाई मैदानमा उतारेका थिए। अमरेश सिंहले २० हजार १७ मत ल्याएर जित निकाल्दा शिवपुजनकी छोरी स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६ सय २२ मत प्राप्त गरेर तेस्रो स्थानमा आएकी थिइन्।

यसपटक शिवपुजनले एमालेबाट छोरा अमनिशकुमार यादवलाई अगाडि सारेको अवस्था छ भने शिवपुजनकी छोरी मधुमाला पनि स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छिन्। शिवपुजनले माघ ५ मा नेकपा परित्याग गरी एमाले प्रवेश गरेपछि अमनिशकुमारको टिकट पक्का भएको थियो। एमालेले रविसिंह कुशवाहको टिकट खोसेर २७ वर्षीय अमनिशकुमारलाई उम्मेदवार बनाएको थियो। शिवपुजनले सर्लाही ४ मा यादव समुदायको ठूलो मत होल्ड गर्ने गरेको शिक्षक पिन्टु सिंहले बताए। शिवपुजनकै अर्का छोरा राजाबाबु यादव सर्लाही ४ कै रामनगर गाउँपालिका अध्यक्ष छन्। 

यसका साथै सर्लाही ४ मा जातीय राजनीति पनि रोचक छ। सर्लाही ४ को उत्तरतर्फ बाहुन, क्षेत्री, मगर लगायतका समुदायको बाक्लो उपस्थिति छ भने दक्षिणतर्फ राजपुत, ब्राह्मण, भूमिहार, महतो, सहनी, यादव, साह बैठा, पासवान, राम र पटेल समुदायका मानिस बस्छन्। विगतको निर्वाचनलाई नियाल्दा दक्षिणी भेग शिवपुजन र अमरेशको प्रभाव क्षेत्र मानिन्छ भने उत्तरी भेगमा थापाका चुनावी कमान्डर वीरेन्द्र सिंहको दबदबा छ। सर्लाही ४ मा मधेसी समुदायबाट तीन र ब्राह्मण–क्षेत्री समुदायबाट तीन जना बलियो दाबेदारीका साथ मैदानमा छन्।

एमाले, नेकपा र जसपाले मधेसी समुदायका उम्मेदवार छन् भने कांग्रेस, रास्वपा र जनमतका उम्मेदवार खसआर्य समुदायबाट छन्। यादव र अन्य समुदायबीच पनि प्रतिस्पर्धा छ। गत निर्वाचनमा पार्टीले नागेन्द्रकुमार रायलाई अगाडि सारेपछि बाध्य भएर अमरेशलाई मत हालेको रामनगरका कांग्रेस कार्यकर्ताहरूको भनाइ थियो।

शिक्षक समेत रहेका एक व्यक्तिले भने, ‘हामी यो क्षेत्रका भूमिपुत्र हौँ। ०७९ मा कांग्रेसले यादवलाई उम्मेदवार बनाएपछि आफ्नो रक्षाका लागि अमरेश सिंहलाई मत दिएका थियौँ। यादव समुदायले हामीलाई साह्रै हेप्छ। यसपालि गाछीमै हाम्रो भोट जान्छ।’

सर्लाही ४ मा २०४८ सालदेखि अहिलेसम्म कांग्रेसबाहेकका उम्मेदवारले दुई पटक मात्रै जितेको अवस्था छ। २०४८, २०५१ र २०५६ सालमा कांग्रेसका तत्कालीन नेता तथा हाल जसपाका संरक्षक महन्थ ठाकुर निर्वाचित भएका थिए भने २०६४ सालको चुनावमा मधेसी जनअधिकार फोरमका शिवपुजन यादवले बाजी मारे। २०७० देखि २०७९ सालसम्म अमरेश सिंहको दबदबा रह्यो। २०७० र २०७४ सालमा कांग्रेसकै उम्मेदवारका रुपमा बाजी मारेका सिंहले २०७९ सालमा स्वतन्त्र उम्मेदवारी दिँदा पनि अपराजित यात्रा कायमै राखे। कांग्रेसले २०७९ सालमा नागेन्द्र कुमारलाई टिकट दिएपछि सिंहले विद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्दा २० हजार १७ मत ल्याएर ह्याट्रिक गरेका थिए। 

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको १६ हजार २९, जनमतको १२ हजार ५ सय ९५, एमालेको ९ हजार ७ सय ९०, तत्कालीन माओवादी केन्द्रको ९ हजार ४ सय ७१, बहुजन एकता पार्टीको ५ हजार ४ सय ४४, जसपाको ५ हजार १ सय ५२, लोसपाको ३ हजा ६ सय ७३, तत्कालीन एकीकृत समाजवादीको १ हजार ६ सय ७९, रास्वपाको १ हजार १ सय ९९ र राप्रपाको ७ सय ५३ मत आएको थियो। 

सर्लाही ४ मा ७ पालिका र ५१ वटा वडामध्ये कांग्रेसले २ पालिका र १९ वडा जितेको छ। उक्त क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४ र १५ नम्बर वडा पर्छन् भने बसबरिया गाउँपालिकाका १, २ र ३ वडा पर्छन्। धनकौल र रामनगर गाउँपालिकाका सबै यसै क्षेत्रमा पर्छन् भने बलरा र गोडैता नगरपालिकाका पनि सर्लाही ४ मै अवस्थित छ। 

विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ गरी ४ वटा वडा सोही क्षेत्रमा पर्छन्। २०७९ सालको स्थानीय निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा एमालेले जित्दा निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादी केन्द्रका उम्मेदवार थिए। बरहथवाका ७ वटा वडामध्ये ३ नम्बर वडा मात्रै कांग्रेसले जितेको थियो। बसबरिया गाउँपालिकाका अध्यक्षमा जसपा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस थियो। बसबरियाका तीन वडामध्ये कांग्रेसले २ वटा वडाध्यक्ष जितेको थियो।

धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्र थियो। धनकौलका सातमध्ये १, २, ४ र ७ गरी कांग्रेसले ४ वटा वडाध्यक्ष जितेको थियो। यस्तै रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी हुँदा कांग्रेस उपविजेता भएको थियो। उक्त पालिकाका ७ मध्ये ६ र ७ गरी २ वटा मात्रै वडा कांग्रेसले जितेको थियो। बलरा नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बाजी मार्दा तत्कालीन लोसपाले दोस्रो स्थान लिएको थियो। नगरपालिकाका ११ मध्ये ६ वटा वडा कांग्रेसले जितेको थियो। 

गोडैता नगरपालिकाको मेयरमा लोसपा निर्वाचित हुँदा कांग्रेस दोस्रो स्थानमा सीमित रह्यो। गोडैताका १२ मध्ये ६ र ९ गरी २ वटा मात्रै कांग्रेसले जितेको थियो। यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष कांग्रेसले जित्दा जसपा उपविजेता बन्यो। उक्त पालिकाका ४ वडामध्ये कांग्रेसले २ वटा जितेको थियो। स्थानीय निर्वाचनमा पनि सर्लाही ४ मा जातीय राजनीतिको प्रभाव देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad