गत २०७९ को प्रतिनिधि सभामा ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की भारी मतान्तरसहित विजयी भएकी थिइन्। उनले ३१ हजार १३६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्का १२ हजार ९६३ मतमा सीमित भए।
२०७४ सालमा चुनाव जितेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत बनेकी पम्फा भुसाल तेस्रो भएकी थिइन्।
यसपालिको चुनावमा पनि ललितपुर ३ मा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। एमालेबाट सन्दन थापामगर, नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सविनकुमार खड्का, जनता समाजवादी पार्टीबाट नेपाल कृष्णदेवी महर्जन र नेपाल मजदुर किसान पार्टीबाट रमिला महर्जन लगायत उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक पनि तोसिमालाई नै मैदानमा उतारेको छ। यसपटक पनि उनले सजिलै चुनाव जित्ने रास्वपा ललितपुर महानगरपालिका वडा नम्बर २४ का सभापति बेदनाथ दाहाल (गोविन्द) बताउँछन्।
‘गत चुनावमा माहोल नै थिएन। चुनाव प्रचारप्रसारमा स्पिकर बोक्ने मान्छे पनि थिएनन्। पुराना दलका टनाटन कार्याकर्ताको लावालस्कर हुन्थ्यो। हामी बेकार हिँडेछौँ, चुनाव हार्छौँ भन्ने लाग्थ्यो। अन्य पार्टीका झण्डा धेरै थिए। हाम्रो पार्टीको झण्डा पनि थिएन। चुनाव प्रचारप्रसारभन्दा जनताले मत दिएर जिताए,’ उनी भन्छन्।
तर, यसपटक संगठन पनि विस्तार भएको र चुनावको प्रचार पनि जोडदार रूपमा भएकाले उत्साह बढेको दाहालको भनाइ छ।
‘मतदातासँगको अन्तर्क्रियामा यो पटक घण्टी बजाउने भन्ने छ। एमाले, कांग्रेसका कट्टर समर्थकहरू प्नि पार्टी छोडिँदैन, भोट घण्टीलाई भन्दैछन्,’ उनले भने।
तर, अन्य दलका नेता–कार्यकर्ता भने तोसिमाले पहिले कांग्रेसको मत चुनाव जिते पनि अब त्यस्तो नहुने बताउँछन्। हुन पनि गत निर्वाचनमा कार्की ३१ हजार १३६ मत सहित विजयी हुँदा उनको पार्टीले समानुपातिकमा १६ हजार ६५० मत मात्र पाएको थियो।
गत निर्वाचनमा कांग्रेसले तत्कालीन माओवादीसँग गठबन्धन गरेको थियो। तर, अधिकांश कांग्रेसी मतदाताको मत भुसालले नपाएको गुनासो तत्कालीन माओवादीले गरेका थिए।
रास्वपाका दाहाल र कांग्रेसका मदन अमात्य पनि यो स्वीकार गर्छन्।
‘कांग्रेसबाट विद्रोह गरेर तोसिमा कार्कीलाई भोट दिएका हुन्। यो पटक उहाँले कार्यकाल पूरा गर्न पाउनु भएन। त्यसैले फेरि सहयोग गर्छौं भन्नुभएको छ,’ दाहाल भन्छन्।
तोसिमा कार्कीले स्थानीयको सांस्कृतिक कार्यमा सहभागी नभएकोदेखि विकासको मुद्दा पनि उठाउन नसकेको आरोप छ। तर, दाहाल यसलाई स्वीकार गर्दैनन्।
‘उहाँ एमाले, कांग्रेसको घर–घरमा पुग्न सक्नु भएन। तर हामीले पीडामा पुगेको जनतासम्म उहाँलाई पुर्याउने काम गरेका छौँ। उहाँ नगर्ने मान्छे हैन,’ दाहालले भने, ‘जनताको काम हुनुपर्छ र सेवा सुविधा पाउनु पर्छ भन्ने नै छ।’
नेपाली कांग्रेसले यो पटक पार्टी सभापति जितेन्द्रकुमार श्रेष्ठलाई टिकट दिएको छ। श्रेष्ठ जित्नैका लागि आफू चुनावी मैदानमा आएको बताउँछन्।
तर नेपाली कांग्रेस ललितपुरका पूर्वसभापति मदन अमात्य हालको माहोल डरलाग्दो रहेको बताउँछन्।
‘ललितपुरमा रास्वपा भित्रभित्र गएको छ। बहिर देखिँदैन। त्यसैले अहिलेको अवस्थामा गाह्रो छ,’ अमात्य भन्छन्, ‘तर, गत निर्वाचनमा गठबन्धन हुँदा कांग्रेसले उम्मेदवार पाएन। मतदाता रिसाएर अन्त भोट गयो। त्यसैले कमजोर देखिएको हो। वास्तवमा हामी कमजोर हैन। हाम्रो धेरै भोट रास्वपामा गएको थियो। कांग्रेसलाई माया गर्नेको भोट अन्त कहीँ नजाओस् भनेर कोसिस गर्दैछौँ। अहिले कांग्रेसलाई भोट माग्न पाइएको छ।’
स्थानीय राजनीति नबुझ्नेलाई जिताउँदाको अनुभव ललितपुरका जनताले लिएकाले पनि मत कांग्रेसलाई नै आउने उनको तर्क छ।
समानुपातिकमा नेपाली कांग्रेसले ८ हजार २४७ मत पाएको थियो।
ललितपुर ३ मा एमालेले झम्सिखेल युथ क्लबका अध्यक्ष सन्दन थापामगरलाई उम्मेदवारको रूपमा अघि सारेको छ। मगर युवा, समाजसेवी र खेलाडी तथा समाजका अगुवाहरू माझ लोकप्रिय नाम भएकाले चुनाव जित्ने नेकपा एमालले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य दाबी गर्छन्।
‘थापा नयाँका साथै युवा हुन्। ललितपुर ३ मा एमालेले अहिलेको जनभावना अनुरूप युवा समाजसेवी उम्मेदवार उठाएको छ,’ आचार्यले भने, ‘ललितपुरको तीन वटै निर्वाचन क्षेत्र जित्छौँ। विशेषगरी ललितपुर ३ ढुक्कसँग जित्छौँ।’
गत निर्वाचनमा एमालेले समानुपातिकतर्फ १२ हजार २९७ मत ल्याएको थियो। हिजोको मत बचाएर थप ५–६ हजार मत आफ्नो पक्षमा ल्याउन सकिए चुनाव जित्न सकिने उनी बताउँछन्। अहिलेको मुख्य लडाईँ भनेको देश बनाउने र देश जालाउने बीचको भएकाले जनताको रोजाइमा एमाले पर्ने उनी दाबी गर्छन्।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजकाजी महर्जन अहिलेको अवस्था सकारात्मक भएको बताउँछन्।
‘यहाँ विगतको जस्तो अवस्था छैन। भूगोललाई कसले कसरी व्यवस्थापन गर्न सक्यो, सकेन भन्ने विषय उठेको छ,’ महर्जनले भने, ‘भूगोल चिनेको र स्थानीयको सुखदुःखमा साथ दिने उम्मेदवार विजयी हुनेछन्।’
ताली र गालीले मात्र चुनाव जित्न नसकिने उनी बताउँछन्। नयाँ हिसाबले जेनजीको माग सम्बोधन गर्ने मुद्दा लिएर अघि बढ्ने उनी बताउँछन्।
‘स्थानीय जनताले रुचाएको उम्मेदवार हुँ। गठबन्धका कारण आफ्नो उम्मेदवार नहुँदा कर्जा दिए जस्तो भोटहरू दिइएको थियो। यो पटक भोट आफ्नो घरमा फर्किन्छ,’ उनले भने।
२०७९ को निर्वाचनमा पम्फा भुसाल ८ हजार ७६९ मत सहित तेस्रो भएकी थिइन्। समानुपातिकमा माओवादी ६ हजार ५३१ मत सहित पाँचौँ भएको थियो।
ललितपुर ३ का जनता परिवर्तनका पक्षधर भएको र ललितपुरमा शून्य भएका पहिलो र पहिलो भएका शून्य हुने थिति रहेकाले आफूले चुनाव जित्ने उनको दाबी छ।
‘सेन्टिमेट, काम गरेको अनुभव र क्षमताले काम गर्छ। स्थानीयसँग भिज्ने, कार्यान्वनयको समस्यामा सधैँ सँगै बस्ने विषय पनि हुन्छ। हामी कहीँ भागेका छैनौँ। समस्या पर्दा लडेका छौँ। खोला मापदण्डमा कराएका छौँ। भूकम्पमा स्थानीयसँग बसेका छौँ। हरेक समस्यामा नभागी यहीँ ठाउँमा छौँ,’ उनले भने, ‘यसले पनि ललितपुर ३ का मतदाताको रोजाइमा म पर्छु।’
Shares

प्रतिक्रिया