आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं १ की उम्मेदवार रञ्जु दर्शनाको फेसबुक वालमा एउटा तस्बिर पोस्ट भयो। ‘भावी प्रधानमन्त्री बालेन शाहज्यूसँगको महत्त्वपूर्ण संवादमा हामी’, दुई वटा फोटो पोष्ट गर्दै उनले भनिन्। दोस्रो फोटोमा काठमाडौं–४ का रास्वपा उम्मेदवार पुकार बम पनि देखिन्छन्।
आइतबार दिउँसो १:८ बजेको सो पोष्ट सोमबार १:१० अर्थात् २४ घण्टामा ११ हजार लाइक, ५ सय ६९ कमेन्ट र २२ सेयर भएको छ। मेटा अल्गोरिदम सिग्नल्सका अनुसार सामान्यतः १० हजार लाइक भएको पोष्ट ३ लाख अकाउन्टको फिडमा देखिन्छ। कमेन्ट र सेयरको इङ्गेजमेन्टबाट फैलिने संख्या अलग्गै हो।
मतदाता संख्यासँग तुलना गरेर हेर्ने हो भने वैकल्पिक राजीनितको आइकोनिक नेता रञ्जुले बालेनसँगको फोटो पोष्टमा भएको 'पब्लिक इंगेजमेन्ट' काठमाडौं क्षेत्र नं. १ का कूल मतदाता संख्याभन्दा धेरै बढी हो। निर्वाचन आयोगको तथ्यांक अनुसार काठमाडौं क्षेत्र नं. १ मा ४८ हजार ४ सय ८९ मतदाता छन्। महिला मतदाता २५ हजार २ सय ५२ छन्। यो अर्कै कुरा हो लाइक गर्नेहरु सबै उनका मतदाता होइनन्।
यो पक्का हो, बालेनसँगको फोटोले चुनाबी माहोल तताउन सहयोग गरेको छ।
बालेनसँग आइतबार भेटेका फोटो पोष्ट गर्नेमा पुकार बम, आसिका तामाङ पनि छन्। बालेनसँग एउटै फ्रेममा देखिएका यी अनुहारले फरक सन्देश दिइरहेछ— यो केवल झापा–५ को एउटा उम्मेदवारले उम्मेदवारले ओलीसँग गरिरहेको प्रतिस्पर्धा मात्र होइन, यो पूरै नयाँ पुस्ताको हस्तक्षेप पनि हो। कतिपय राजनीतिक सञ्चार विश्लेषकले यसलाई 'भिजुअल म्यानुपुलेसन पनि भन्छन्।
‘पार्टीका दुई नेताबीच सामान्य भेटघाट भएको फोटो पोष्ट गरेको हो। भावी प्रधानमन्त्रीले भावी सांसदसँग कुराकानी गर्नुपर्छ नि ! यो सामान्य कुरा हो’, रञ्जु दर्शना भन्छिन्, ‘ज्वागलमा भेटघाट भएको हो। चुनाब, राजनीतिबारे कुराकानी भयो।’ ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकार (बेन)को घरबाट बालेनको निजी सचिवालय चल्दै आएको छ।
फरक पुस्ता, फरक शैली
झापा-५ सहित देशका अरू ठाउँमा पनि रास्वपा र एमालेमा अहिले दुईवटा समानान्तर अभियान चलिरहेका छन्।
एउटा 'बालेनको भिजुअल अभियान' जसले भविष्यको सपना देखाइरहेछ र अर्को ओलीको चिठी अभियान' जसले विगतको विरासत सम्झाइरहेछ।
बालेनलाई थाहा छ, एमाले, कांग्रेस जस्ता पार्टीहरूको देशव्यापी बलियो संगठन छ, पार्टीको सञ्जालमा जोडिएका धेरै कार्यकर्ता छन्। ती सञ्जाल तोड्न उनले परम्परागत भाषणबाजीभन्दा बढी 'पपुलिस्ट' इमेजको सहारा लिइरहेका हुन्। रञ्जुजस्ता 'विवेकशील' पृष्ठभूमिबाट आएका नेता र आसिका तामाङ जस्ता भुइँतहमा लोकप्रिय पात्रहरूसँगको फोटो सेसनले विपक्षी नेतालाइ दिइरहेको सन्देश स्पष्ट छ— 'रास्वपाका लागि बालेन प्रधानमन्त्री उम्मेदवार मात्र होइनन् चुनाबी एम्बेसडर पनि हुन्।'

ओली र बालेन केवल झापाका एकअर्काका प्रतिस्पर्धी उम्मेदवार मात्रै होइनन्। सिंगो एमाले र रास्वपाको चुनाबी माहोल तताउने प्रमुख पात्र पनि हुन्। नेपाली राजनीतिका यी दुई पात्र यतिबेला दुई फरक पुस्ता, दुई फरक शैली र दुई फरक चिन्तनको भिडन्तमा पनि छन्। एउटा पक्ष उम्मेदवारसँग फोटो सेसन गरिरहेछ। अर्को 'कागजी साइनो' र 'संगठनात्मक पत्र' मार्फत कार्यकर्ता एकत्रित पारिरहेछ।
संगठन र सेलिब्रेटीबीच टक्कर
बालेनले सञ्जालमा फोटोमार्फत माहोल बनाइरहँदा, झापाका पुराना एमाले कार्यकर्ताका हातमा खामबन्दी एउटा चिठी पुगेको छ। त्यो चिठी कुनै साधारण सूचना होइन, जसमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वंको प्रत्यक्ष हस्ताक्षर छ। कार्यकर्ताको नाम लेखेरै अध्यक्षले पत्र पठाएका हुन्। एमालेले आफ्ना ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यहरूलाई व्यक्तिगत रूपमा सम्बोधन गर्दै चिठी पठाएको हो।
पहिले संगिठत सदस्य रहेका र पछिल्लो समय निस्क्रिय रहेकाहरूको हातमा पनि नामै सम्बोधन गरेको पत्र पुगेको छ। आफूलाई चिठी आएको भन्दै कतिपयले सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन्।
ओलीले चिठीमा लेखेका छन्— 'फागुन २१ को निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हारजितको फैसला गर्नेछ। देश निर्माणको लागि हाम्रो पार्टीको जित आवश्यक छ।'
चिठीमा देश निर्माणका लागि एमाले एमालेलाई बहुमत आवश्यक रहेको उल्लेख छ। उनले यसअघि केन्द्रीय सदस्यलाई पनि यस्तै पत्र पठाएका थिए। ओलीको हस्ताक्षरसहितको चिठीले कार्यकर्तामा 'मलाई अध्यक्षले अझै चिन्नुहुँदो रहेछ' भन्ने मनोवैज्ञानिक छाप छोड्ने कोसिस गरेको छ।
कार्यकर्तालाई पठाइएको पत्र ओलीको निजी सचिवालय टोलीले तयार पारेको हो। पत्रमा प्रयोग भएको मीठो भाषा पनि सचिवालयले नै फाइनल गरेको हो। ‘चुनाब लक्षित गरेर पत्र पठाउने काम भएको हो’, एमाले नेता निरज आचार्य भन्छन्, ‘कोही कतै यताउता लागेको पनि होलान् भनेर अध्यक्षज्यूले पत्र लेख्नुभएको हो।'
निर्वाचन प्रचारमा देखिएको यो फरक लडाइँ 'संगठन' र 'सेलिब्रेटी क्रेज' बीचको एउटा टक्कर पनि हो।
Shares

प्रतिक्रिया