राजनीति


बालेन र सुदनलाई गम्भीर आरोप लगाउँदै कांग्रेस नेता मीन विश्वकर्माको प्रश्न: अब पनि अनुसन्धान बाँकी छ र?

बालेन र सुदनलाई गम्भीर आरोप लगाउँदै कांग्रेस नेता मीन विश्वकर्माको प्रश्न: अब पनि अनुसन्धान बाँकी छ र?

नेपालखबर
माघ ११, २०८२ आइतबार १०:४७, काठमाडौँ

नेपाली कांग्रेका नेता मीन विश्वकर्माले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका हिंसा र आगजनी कसले गरेका थिए भन्ने कुरा छर्लङ्ग भइसकेको दाबी गरेका छन्। 

यस क्रममा उनले हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवारद्वय बालेन्द्र शाह (बालेन) र सुदन गुरुङको नामै लिएका छन्।

‘भाद्र २३ र २४ मा वितण्डा मच्चाएर देश खरानी पार्ने बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै पार्टीमा जोडिए’, आइतबार बिहान कांग्रेस नेता विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिक सरकारका मन्त्री पनि सरकार छाडेर त्यतै गए, रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिने भन्यो।’

उनले अगाडि लेखेका छन्, ‘आखिर भाद्र २३ र २४ को कहाली लाग्दो नाटक (होरर ड्रामा) किन र कसले घटाएको रहेछ? आयोगको रिपोर्ट बाहिर नआउँदै घटनाका पात्रहरूको दैनिक क्रियाकलापले छर्लङ्ग पारिदियो। अझै दिनहुँ खुल्दै छन्। देश कसले, किन जलायो? यत्तिका मानिस किन कसले मार्‍यो? अब पनि अनुसन्धान बाँकी छ र आयुक्तज्यू?’

जेनजी आन्दोलनका बेला काठमाडौँका मेयर रहेका बालेन आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा-५ र हामी नेपालका संस्थापक सुदन गोरखा-१ मा उम्मेदवार बनेका छन्।   

यस्तो छ विश्वकर्माको पूरा स्टाटस

घटनाहरू कुनै पहिल्यै थाहा हुन्छन् त केही सुरुमा आकस्मिक, अकल्पनीय अर्थात् रहस्यमय देखिन्छन्। प्रसिद्ध साहित्यकार तथा लेखक बालकृष्ण समको “नियमित आकस्मिकता”जस्तै।

गत भाद्र २३ देखि नेपालमा हुँदै आएका घटनाहरू आकस्मिक, अकल्पनीय, चमत्कारी र रहस्यमय लाग्थे। अहिले बिस्तारै खुल्दै छन्। 

१. भाद्र २३ गते अबोध स्कुले बालबालिका सुशासनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनका लागि भेला हुनु।

२. त्यही भिडमा सयौँको संख्यामा टीओबी लेखेको टी-सर्ट ज्याकेट लगाएर बुलेट बाइकमा आएर भिडमा पस्नु।

३. बालबालिकाको जुलुस बानेश्वर संसद् भवन अर्थात् निषेधित क्षेत्र प्रवेश गर्नु

४. अरू बेला भिड रोक्न राखिने सुरक्षा ब्यारिगेट त्यो दिन नहुनु

५. विरोध जुलुसमा महानगरपालिकाको गाडीमा कर्मचारीहरू नै पानी वितरण गर्न हिँड्नु

६. गोली चल्नु तर संसद् भवनको कम्पाउन्ड भत्काउने भत्काएर भित्र पस्नेलाई होइन बाहिर जुलुसको बिचमा रहेका कलिला बालबालिकालाई लाग्नु र उनीहरूको ज्यान जानु

७. सामाजिक सञ्जालको बन्देज हटाइयो, गृहमन्त्रीले राजीनामा गरे, सोचेजस्तो स्थिति सामान्य भएन

८. २४ गते बिहानैदेखि कांग्रेस एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत प्रहरी कार्यालय तथा व्यावसायिक प्रतिष्ठान तोडफोड, लुटपाट र आगजनी गरी खरानी पारे

९. जेल भत्काएर रास्वपाका नेता विजय जुलुससहित बाहिर आए। उनीसँगै भागेका हजारौँ कैदीबन्दी अझै फरार छन्

१०. यत्तिका जनधनको क्षतिको जिम्मा कसैले लिएनन् तर सडकमा नारा लगाउँदै हिँडेकै मानिस प्रधानमन्त्री र मन्त्री बने

११. चुनाव गर्न भनी बनेको नागरिक सरकारले सबैभन्दा पहिले तीनै जेल तोडेर भागेर कैदीबन्दीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गर्‍यो

१२. भाद्र २३ र २४ मा वितण्डा मच्चाएर देश खरानी पार्ने बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै पार्टीमा जोडिए

१३. नागरिक सरकारका मन्त्री पनि सरकार छाडेर त्यतै गए

१४. रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिने भन्यो

१५. कार्की आयोगले बयान तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग लियो

आखिर भाद्र २३ र २४ को कहाली लाग्दो नाटक (होरर ड्रामा) किन र कसले घटाएको रहेछ? 

आयोगको रिपोर्ट बाहिर नआउँदै घटनाका पात्रहरूको दैनिक क्रियाकलापले छर्लङ्ग पारिदियो। अझै दिनहुँ खुल्दै छन्। देश कसले, किन जलायो? यत्तिका मानिस किन कसले मार्‍यो?

अब पनि अनुसन्धान बाँकी छ र आयुक्तज्यू? आजलाई यत्ति….धन्यवाद!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad