राष्ट्रिसभाका चार सिटका लागि मधेस प्रदेशमा पनि मतदान सुरु भएको छ।
प्रदेश राजधानी जनकपुरस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा आइतबार बिहान ९ बजेदेखि नै मतदान चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहितका दलका ११ जना उम्मेदवार रहेका छन्।
मधेसमा दलित, अल्पसङ्ख्यक/अपाङ्ग, महिला र अन्यतर्फ रिक्त सिटमा निर्वाचन हुन लागेको हो।
निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेका छन्। नेकपा एक्लै प्रतिस्पर्धामा छ।
नेकपाले चारवटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दिएकी छन्।
जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दास उम्मेदवार बनेका थिए।
दल एकीकरणको बेला भने जसपा नेपालबाट दिइएको उम्मेदवारी निस्कृत पार्ने सहमति भएको थियो।
त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिलातर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको छ।
कांग्रेस-एमाले-जसपा नेपालबीच गठबन्धन रहे पनि प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरू एकअर्काको प्रतिष्पर्धी भएको कारण त्यसको असर राष्ट्रियसभा निर्वाचनमा पर्न सक्ने आंकलन गरिँदै छ।
हुनत गठबन्धन दलका नेताहरूले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचनले असर पार्न नसक्ने दाबी गरिरहेका छन्।
मधेश प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता रहेका छन्।
निर्वाचनमा कांग्रेस-एमाले-जसपा नेपालले गठबन्धन गरेकाले उनीहरूकै गठबन्धनबाट उम्मेदवार बनेकाले नै निर्वाचत जित्ने निश्चित प्रायः छ। नेकपाले एक्लै सबै पदमा उम्मेदवारी दर्ता गरेको छ। मतभार हेर्दा यहाँ कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धन बलियो अवस्थामा देखिन्छ।
कसको मतभार कति?
मधेस प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता रहेका छन् ।
मधेश प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ छ भन्ने २६७ जना पालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १९ छ। निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा कुल १० हजार ५८५ मतभार रहेको छ।
कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनको पक्षमा ८ हजार १८६ मतभार सुरक्षित देखिन्छ। जसले गठबन्धनलाई बलियो अवस्थामा देखाउँछ।
मधेश प्रदेशमा रहेका १०७ प्रदेशसभा सदस्य २७२ सथानीय तह जनप्रतिनिधि कायम रहेकोमा केही मतदाता कारवाहीमा परेपछि निर्वाचन आयोगले प्रदेश सभातर्फ १०४ र स्थानीय तर्फ २६७ मतदाता कायम गरेको छ ।
राष्ट्रियसभा निर्वाचन आयोग कार्यालयका अनुसार प्रदेश सभातर्फ ३ जना र स्थानीय तहतर्फ ५ जना जनप्रतिनिधि निलम्बनमा परेका छन्। हाल प्रदेशसभा सदस्यमा १०४ र २६७ जना मतदाता कायम छन्।
प्रदेश सभामा एमालेका दिपेन्द्र ठाकुर, जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मासहित ३ जना निलम्बनमा छन्। यस्तै स्थानीय तहतर्फ माओवादी केन्द्रबाट बागमति नगरपालिकाका मेयर र उपमेयर कांग्रेसबाट धनौजी गाउँपालिकाका उपमेयर, जसपा नेपालबाट राजविराज नगरपालिका मेयर, एमालेबाट कल्याणपुर नगरपालिका मेयर निलम्बित छन्।
प्रदेशसभातर्फ ५ हजार ५१२ र स्थानीय तहतर्फ ५ हजार ७३ मतभार रहेको छ। गठबन्धनको पक्षमा प्रदेशसभाबाट ३ हजार ८१६ र स्थानीय तहका जनप्रतिनिधिबाट ४ हजार ३७० मतभार कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ।
दलगत मतभार अनुसार नेपाली कांग्रेससँग २२ प्रदेशसभा सदस्य र १०१ स्थानीय तहका प्रमुख–उपप्रमुख छन्, जसबाट ३ हजार ४८५ मतभार बनेको छ। नेकपा एमाले दोस्रो स्थानमा रहँदै २४ प्रदेशसभा सदस्य र ५५ स्थानीय तहका प्रतिनिधिबाट २ हजार ३१७ मतभार रहेको छ।
तेस्रो शक्तिका रूपमा जसपा नेपाल देखिएको छ। जसपाका १८ प्रदेशसभा सदस्य र ५० स्थानीय तहका प्रतिनिधिबाट १ हजार ९०४ मतभार रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ प्रदेश सांसद र २४ स्थानीय तहका प्रतिनिधिबाट ८८० मतभार कायम छ।
तत्कालिन माओवादी केन्द्रसँग ९ प्रदेश सांसद र १६ स्थानीय तहका प्रतिनिधिबाट ७८१ मतभार छ। नेकपा (एकीकृत समाजवादी) सँग ७ प्रदेश सांसद र ११ स्थानीय तहका प्रतिनिधिसहित ५८० मतभार छ। हाल यी दुई दल एक भएर नेकपा बनेको छ। जसको कूल मतभार १ हजार ३६१ छ।
यता जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी तथा केही स्वतन्त्र जनप्रतिनिधिले भने कुन गठबन्धनलाई समर्थन गर्छन् खुलेको छैन।
जनमत पार्टीसँग १३ प्रदेश सांसद र ३ स्थानीय तहका प्रमुख–उपप्रमुखबाट ७४६ मतभार छ। नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका समान १/१ प्रदेशसभा सदस्यबाट ५३–५३ गरि १५९ मतभार रहेको छ। स्वतन्त्रतर्फ ३ स्थानीय तहका प्रतिनिधिबाट ५७ मतभार रहेको छ।
Shares

प्रतिक्रिया