राजनीति


प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिन तयार छु: ओली

प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिन तयार छु: ओली

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८२ आइतबार ७:४४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’ को लागि तयार रहेको बताएका छन्। 

झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आफू निर्वाचनका एजेन्डाका विषयमा सार्वजनिक बहसका लागि तयार रहेको बताएका हुन्। 

‘नयाँ र पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।’

उनले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्नेसमेत बताएका छन्। 

शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा पनि ओलीले आफू ‘पब्लिक डिभेड’का लागि तयार रहेको बताएका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि ओलीले आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्न थालेका छन्। 

ओलीसँगै कांग्रेसका सभापति गगन थापा, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ लगायतलाई प्रधानमन्त्रको उम्मेदवारका रुपमा अघि सारिएको छ। तर, एमालेले भने अहिलेसम्म औपचारिक रुपमा ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारिसकेको छैन।  

‘यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवारसमेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ?’ उनले भनेका छन्, ‘सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad