पूर्वमन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूविरुद्ध आइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो स्पष्टीकरण प्रस्तुत गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अन्तरिम सरकारमा मन्त्री बन्न जाने बेलामै प्रधानमन्त्री सुशीला कार्कीलाई पछि आफू राजनीतिमा लाग्ने कुरा जानकारी गराएको दाबी गरेका हुन्।
घिसिङले लेखेका छन्, ‘यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्ट पारेको थिएँ। तर तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेनजी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानुपरेमा राजीनामा दिएर जान सकिने सम्मानीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ।’
उनले अगाडि लेखेका छन्, ‘यस विषयलाई सम्माननीय प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा पनि उल्लेख गर्दै आउनुभएको छ। आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै मैले जिम्मेवारी सम्हालेको हुँ। आफ्नो अडान प्रस्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ। म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले मेरो जिम्मेवारीबोध पुष्टि गर्छन्। अतः मेरोविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भइरहेका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन सबैमा हार्दिक आग्रह गर्दछु। उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु।’
कुलमान २०८२ भदौ ३० देखि २०८२ पुस २३ गतेसम्म सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात गरी एकसाथ तीनवटा मन्त्रालयका मन्त्री बनेका थिए।

Shares

प्रतिक्रिया