आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। त्यस अवधिमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
देशका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४८७ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
त्यस्तै, एक जनाको उम्मेदवारी खारेज भएको छ। कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरेको हो।
बिहीबार आयोगले उम्मेदवारीमाथि बादी विरोध तथा उजुरी दिने समय तोकेको थियो। त्यसमा पाँच जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो। जाँचबुझ गर्दा एक जनाको मात्रै खारेज गरेको र अन्य चार जनाको उम्मेदवारी यथावत राखेको प्रवक्ता भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया