पत्रकारितामा ऋषि धमला ‘नाम होस् या बदनाम, तर गुमनाम नहोस्’ भन्ने मान्छे हुन्।
प्रधानमन्त्री सुशीला कार्कीलाई देशैभरका मानिसले चिन्छन् भनेर ग्यारेन्टी लिन सकिन्न। तर, उनका हकमा ढुक्कले भन्न सकिन्छ– धमलालाई नचिन्ने कोही छैन।
सोसल मिडियाको ‘बिगबिगी’ नहुँदासम्म धमला मिडियामा आउने पाहुनामाथि ‘हमला’ गर्थे। आफूले सोधेको प्रश्नको जवाफ दिइनसक्दै अर्को प्रश्न (धेरै जसो चाहिँ अगतिला)ले हमला गरिहाल्थे।
रेडियो र टेलिभिजिनको जमानामा उनी ‘धमलाको हमला’ भनेर चर्चित भए। तर, जब सोसल मिडियाको प्रभाव सुरु भयो, मूलधारका मिडियामा ‘धमलाको हमला’ मात्रै काफी भएन चर्चित भइराख्न।
अनि, उनले आफ्नो धार बदले। हमलामा ‘ह्युमर’ मिसाए। त्यसपछि उनका कार्यक्रममा आएका अथिति एकअर्कामाथि भिड्न थाले। दर्शकहरू कुनै सूचनाका लागि भन्दा पनि रमाइलोका लागि उनका कार्यक्रम हेर्न थाले।
युट्युबमा ‘भ्युज’ बढ्यो। यसबाट जोसिएका धमला समाचारमा ‘एक्टिङ’ गर्न थाले। दुःखका समाचार भन्दा धुरुधुरु रुने, अनि मौसमका समाचार भन्दा जोडजोडले चिच्याउने।
जे होस्, आफ्नो त्यो ‘सिग्नेचर स्टाइल’ उनले चुनावी मैदानमा पुग्दा पनि छाडेका छैनन्।
उम्मेदवारी दर्ताको अघिल्लो दिन ५ गते चुनाव लड्ने घोषणा गर्दै मधेसतिर हानिएका उनले रौतहट–४ बाट उम्मेदवारी दिएका छन्।
दल चाहिँ प्रभु साह नेतृत्वको आम जनता पार्टी हो, जहाँ उनकी श्रीमती उपाध्यक्ष छिन्।
उम्मेदवारी दर्ता लगत्तै तुफानी गतिमा घरदैलो सुरु गरिसकेका धमला कतै जेरी बनाउँदै हिँडेका छन् त कतै काठ काट्दै गरेका भेटिन्छन्। कतै साइकल चलाउन सिक्दै छन्।
धमला किसानको भान्सादेखि बारीसम्मै पुगेका छन्। काट्दै गरेको उखुबारीमा पुगेर उखु बोक्दै उनले भनेका छन्– ‘ए उखु है ना, ये बोककर मैं गाँव–गाँव जा सकता हूँ। आपको लेकर जा सकता हूँ। मैं काम करूँगा।’
मधेसको देहातमा डुल्दै गरेका उनले काँधमा माला पनि थाप्दै हिँडेका छन्। अनि, आफूलाई लगाइदिनेलाई त्यही माला लगाइदिएकै छन्। सडकमा भेटिनेलाई उनले जोडले अँगालो मारेकै छन्।
अनि, ट्रक्याटरमा पनि बसिसकेका छन्। धन्न कुदाउन चाहिँ कुदाएनन्।
ट्रक्याटरमा बसेका उनले भनेका छन्,– ‘मधेस–तराईमा यसले महत्त्वपूर्ण काम गर्छ। यसको महत्व छ किसानका लागि।’
चुनावी मैदानमा दौडिरहेका उनी कहाँ पुगेर रोकिने हुन्, भन्न सकिन्न। चुनाव प्रचारको महिना दिनमा उनले के–के गर्ने हुन्, त्यसको कुनै ‘स्क्रिप्ट’ नै छैन।
धेरैलाई उनका यी गतिविधि चुनावका लागि रचिएको ‘चर्तिकला’ लागेको छ। जे भए पनि उनका यी उट्पट्याङ हर्कत सोसल मिडियामा ‘भाइरल’ भइरहेका छन्।
तर, धमलाले आफू ‘फन्नी’ मात्रै होइन, ‘सिरियस’ पनि छु भन्ने पनि देखाइरहेका छन्। त्यस दौरान उनी बिरामीलाई पनि भेट्छन्। बिरामीको चिन्ताजनक अवस्था देखेर उनी धुरुधुरु रुन्छन् पनि।
धमला अहिले ‘एक्सन’मा छन्। किनकि, चुनावी मैदानमा उत्रिनुअघि उनले भनिसकेका थिए– ‘म भाषण कम, एक्सन बढी गर्न चाहन्छु।’
१४ वर्षको उमेरदेखि आफूले पत्रकारिता थालेको र ‘देशको परिवर्तनका लागि काम गरेँ’ भन्दै अब उनी एक्सनमै उत्रिएर भ्रष्टाचारविरुद्ध र सुशासनका लागि काम गर्न चाहन्छन्।
देशका लागि मात्रै होइन, रौतहटबासीका लागि पनि उनीसँग ‘मास्टर प्लान’ छ। ‘जनता जान्न चाहान्छन्’ मा ‘आज म विशेष खुलासा गर्दैछु’कै शैलीमा धमलाले भनेका छन्– ‘एउटा नयाँ खुलासा गर्न चाहन्छु रौतहटवासीका लागि, एउटा राम्रो मेडिकल कलेज खोल्नका लागि मसँग मास्टर प्लान छ। मार्गचित्र छ। त्यसको लागि म तपाईंहरूलाई साथमा लिएर एक वर्षभित्र एउटा गुरुयोजना ल्याएर रौतहटबासीको सपना पूरा गर्न चाहान्छु।’
यति भन्दै गर्दा उनले ‘देशकै कायाकल्प गरिदिन्छु’ भन्ने नेताहरूको पदचाप पछ्याउन पनि भुलेका छैनन्। धमलाको घोषणा छ– ‘एक वर्षभित्र रौतहटबासीको मुहार परिवर्तन गर्न के–के गर्नुपर्छ, म जनतासँग अन्तर्क्रिया गर्छु, जनतासँग। अब नेतासँग होइन।’
अहिलेलाई टेलिभिजन छोडेका उनले चुनावपछि ‘पत्रकारिता’ छोड्ने, नछोड्ने केही भनेका छैनन्। तर, जे होस्, सोसल मिडियामा आँखा दौडाइ बसिरहेकाहरूलाई न्यास्रो हुन दिएका चाहिँ छैनन्।
धमला आफ्नो काम गरिरहन्छन्। कसले के भनिरहेको छ भन्ने कुराले उनी प्रभावित हुँदैनन्। उनको सबलता पनि त्यही हो, दुर्बलता पनि।
नागरिकता किर्ते प्रकरणमा आफ्नो गृहमन्त्री पद खोसिएपछि आक्रोसित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई ‘१२ भाइ’को ट्याग भिराउँदै गर्दा धमलालाई चाहिँ ‘सर्कसको जोकर’ भनेका थिए।
रविको यो टिप्पणीले धमला रविजस्तो आक्रोशित भएनन्। न कतै प्रतिक्रिया नै जनाए।
बुद्धवीर लामाको गीत ‘काँडेतारको बार लाए नि मेरो यात्रा रोकिन्न, हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न। कति गर्छौ उपहास अझै गर्दै गर, म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’ शैलीमा धमला हिँडिरहे।
सायद अब पनि त्यसरी नै हिँड्ने छन्।
Shares

प्रतिक्रिया