प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदावर बनेका नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले प्रस्टीकरण बुझाएका छन्।
बिहीबार चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रस्टीकरण बुझाएका हुन्। उनीविरुद्ध बुधबार उजुरी परेको थियो। उजुरीमा उनको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।
त्यस विषयमा बिहीबार आफ्नोतर्फबाट प्रस्टीकरण बुझाएको चौधरीले बताए। उनले आयोगलाई प्रस्टीकरण दिएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा आम माफी पाएको उल्लेख गर्दै आफू उम्मेदवारका लागि अयोग्य नभएको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १६ को उम्मेदवारको अयोग्यता सम्बन्धनमा देहाय (घ) मा कुनै कसूरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था मेरो हकमा आकर्षित हुने होइन।’
आम माफी पाएको व्यक्ति उम्मेदवार हुन नपाउने भन्ने व्यवस्था नभएको उनले जिकिर गरेका छन्। ‘नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम आममाफी पाएको व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मा अयोग्य हुने भनी कानुनमा व्यवस्था गरेको छैन। यसरी झुटा उजुरी खारेज गरी पाऊँ,’ चौधरीले भनेका छन्।
उनको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले आज छानबिन गर्नेछ। त्यसपछि आजै निर्णय गरेर उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
आउँदो प्रतिनिधि सभा सदस्यका लागि चौधरीले कैलाली-१ बाट उम्मेदवारी दिएका छन्। यसअघि २०७४ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
रेशम चौधरीले बुझाएको प्रस्टीकरण:



Shares

प्रतिक्रिया