राजनीति


सप्तरी–२ मा त्रिकोणात्मक प्रतिस्पर्धा

राउत, सिंह र यादव को बलियो?
सप्तरी–२ मा त्रिकोणात्मक प्रतिस्पर्धा

सुभाष कर्ण
माघ ८, २०८२ बिहिबार १०:५९, जनकपुरधाम

जनमत पार्टीको आधारक्षेत्र मानिएको सप्तरी क्षेत्र नम्बर–२ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ। 

यो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, जसपाका उमेश यादव र  जनमत पार्टीबाट मधेसकाे मुख्यमन्त्री बनिसकेका सतिश सिंहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ।

०७९ काे निर्वाचनमा सप्तरी २ बाट राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका थिए। अघिल्लो निर्वाचनमा राउतसँग पराजित बनेका यादव यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर सप्तरी ३ मा पुगेका छन्।

उनले आफू पराजित भएको क्षेत्रमा यसपटक पूर्व माओवादी नेता उमेश यादवलाई उम्मेदवार बनाएका छन्। १० वर्षसम्म जनयुद्ध लडेर मन्त्रीसमेत बनिसकेका उमेश केही  दिनअघि मात्र प्रचण्ड नेतृत्वको नेकपा छाडेर जसपा प्रवेश गरेका थिए।

जनमतका पूर्व नेता सिंह भने आफ्नै दाइ नेतृत्वको स्वाभिमान पार्टीबाट उम्मेदवार रहेका हुन्।

हुनत यहाँ प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, नेकपा, जनअधिकार पार्टी र बालेन क्रेज भएका रास्वपाको पनि उम्मेदवार छन्। तर अन्य उम्मेदवारको यस क्षेत्रमा खासै प्रभाव  देखिएको छैन।

यहाँ एमालेबाट मो. जियाउल रहमान, कांग्रेसबाट रामकुमार यादव, नेकपाबाट सूर्यनाथ यादव, रास्वपाबाट रामजी यादव, जनअधिकार पार्टीबाट डा.शरद यादव उम्मेदवार छन्। 

अघिल्लो निर्वाचनमा जस्तो राउतलाई यसपटक सप्तरी २ मा चुनाव जित्न त्यति सहज देखिँदैन।

२०७९ सालको निर्वाचनमा राउतले सप्तरी २ मा १८ हजारभन्दा धेरै मतान्तलेर उपेन्द्र यादवलाई पराजित गरेका थिए। 

राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याएका थिए।  यसपटको निर्वाचनमा भने यादवले सप्तरी ३ बाट उम्मेदवारी दिएका छन्।

त्यतिबेला पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले सप्तरी २ बाट ७ हजार ३४७ मत ल्याएका थिए। 

हैकमवाद, परिवारवाद र नातावादको आरोप खेप्दै आएका राउतलाई यस पटकको निर्वाचन फलामको चिउरा बन्नसक्ने आँकलन हुन थालेका छन्।

फेरि अहिले राउत नेतृत्वको जनमत टुक्रिएको छ। उनका दाहिने हात मानिने नेताहरू अन्य दल निर्माण गरी उनकै प्रतिष्पर्धी बनेको अवस्थाले राउतलाई बढी असर गर्ने अनुमान छ।

यसमा केही हदसम्म मधेसमा बढेको रास्वपाका वरिष्ठ नेता बालेनको क्रेजले पनि असर पार्नेछ। 

महदेवा गाउँपालिका ३ का ब्रम्हदेव मण्डल भन्छन् ‘सिके राउतले आफ्नो आन्दोलनको मुद्दाबाट पछि हटेर पार्टीलाई परिवारवादमा लगे। यस पटक सतिश सिंह वा उमेश यादव मध्ये एकलाई मत पर्ने सम्भावना बढी छ।’

अर्का स्थानीय दिपेश यादव भने आउँदाे निर्वाचनका लागि जनतामा जान कुनै पनि उम्मेदवारसँग नयाँ एजेण्डा नभएको दाबी गर्छन्।

‘डा. राउतको विगतमा फरक किसिमको पहिचान थियाे,’ उनले भने, ‘आत्मसम्मान र विकासका नारा लिएर आउँदा विगतमा राउतले राम्राे मत पाउनु भयो। तर यस पटक ती मुद्दा हराए। उहाँसँग नयाँ एजेण्डा पनि केही छैनन्।’  

राजनीतिक विश्लेषक रोशन जनकपुरीले यसपटकको चुनाव डा. सिके राउतका लागि चुनौतीपूर्ण रहेको बताउँछन्। उनी भन्छन, ‘विगतमा मधेश प्रदेश बनाउनु पर्छ, कृषि, शिक्षासहित आत्मसम्मानको मुद्दा लिएर उनी आएका थिए। त्यसलेसंगठन विस्तार सँगै निर्वाचनमा पनि राम्रो सहयोग पुग्यो। तर यस पटक उनका नारा बिक्दैनन्।’

यस्तै मधेस मामिलाका जानकार राजनीतिक विश्लेषक डा. सुशिल यादव पनि यस पटकको निर्वाचन डा. राउतका लागि चुनौतीपूर्ण रहेको बताउँछन्। उनी भन्छन ‘सप्तरी २ जनमतको गढ भएपनि त्यहाँ उनका दुई सारथी स्वाभिमान पार्टीबाट सतिश सिंह र जनअधिकार पार्टीबाट उनकै पार्टीका प्रवक्ता डा. शरद यादव उम्मेदवार बनेका छन्। उनीहरूले मत काट्दा फाइदा जसपा नेपालका उमेश यादवलाई हुन सक्छ।’ 

गत निर्वाचनमा राउतका सारथीको रुपमा काम गरेका मधेसका पूर्वमुख्यमन्त्री सतिश सिंह यस पटक आफ्नै दाइ नेतृत्वको पार्टी स्वाभिमान पार्टीबाट उम्मेदवार छन् भने जनमत पार्टीका तत्कालिन प्रवक्ता डा. शरद यादव आफ्नै जनअधिकार पार्टी खोलेर राउतविरुद्ध खडा भएका  छन्।

सिंह गत निर्वाचनमा प्रदेससभातर्फ सप्तरी क्षेत्र नम्बर २ (क) बाट १६ हजारभन्दा बढी मत ल्याएर विजयी भएका उम्मेदवार हुन्। 

जनमतको प्रवक्ता रहिसकेका डा. यादव पहिलो पटक निर्वाचन लड्दैछन्। तर उनले पनि राउतको मत राम्रै काट्ने सम्भावना छ। किनकी डा. राउतका सल्लाहकार र संगठन विस्तारका प्रमुख योजनाकार मध्येका प्रमुख व्यक्ति हुन् यादव। जनमतभित्र उनको राम्रो पकड पनि छ।

यस पटकको निर्वाचनमा डा. राउतले दाइ जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य र पार्टीको वरिष्ठ उपाध्यक्ष, भाउजु बबिता इशर राउतलाई प्रदेश सांसदसहित उपसभामुख र पार्टीको विशिष्ट उपाध्यक्ष बनाएको नकारात्मक प्रचारले पनि राउत रक्षात्मक बन्नुपर्ने अवस्था सिर्जना भएको छ।

राउतले आफ्ना अन्य नातेदारहरूलाई तलब आउने विभिन्न निकायमा करार तथा अस्थायीमा नियुक्ति दिलाएर पदको दुरुपयोग गरेका छन्।यी सबै घटनाहरुले  राउत र उनको पार्टी पटक पटक विवादमा तानिएको छ। राउत नेतृत्वको पार्टी टुक्राटुक्रामा विभाजित हुनुमा उनको परिवारवादले पनि काम गरेको छ।

राउतका यस्तै कमजाेरीलाई प्रतिष्पर्धी सिंह र यादवले निर्वाचन प्रचार प्रसारका प्रमुख आधार बनाउएका छन्।  यस पटकको निर्वाचनमा डा. राउतलाई आफ्नै पार्टीका पुराना सारथीहरू नै अवराेधक सम्भावना देखिन्छ।

राउतलाई परिवारवादको आरोप लगाउँदै धेरै नेता उनको पार्टीबाट बाहिरिइसकेका छन्। यस बीचमा स्वाभिमान पार्टी, जनअधिकार पार्टी र जनस्वराज पार्टीसहित जनमत चार टुक्रामा विभाजित भइसकेको छ। डा. राउतलाई यस पटकको निर्वाचनमा उनकी श्रीमती सोनी सिन्धु रानीसँग अदालतसम्म पुगेको विवादलाई पनि प्रतिष्पर्धी दलहरुले हतियार बनाउने रणनीतिमा बनाएका छन्। 

पूर्व मुख्यमन्त्री सिंहको सप्तरी २ (क) मा राम्रो पकड छ। सो क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाढी, महदेवा र राजविराजसहित ४ पालिकाका १९ वटा वडा पर्छन्।

उनले यस भेगमा आफ्नो पार्टीबाट मुख्मन्त्री हुँदा विकास योजना पनि राम्रैसँग पारेका छन्।

प्रदेश सभा (ख) जनमत पार्टीका महेश यादवको क्षेत्र हो। जो हाल प्रदेश प्रदेशका अर्थमन्त्री छन्। तर यस क्षेत्रमा पूर्व मुख्यमन्त्री सिंहको प्रभावले पनि राउतलाई असर पार्ने सम्भावना रहेको स्थानीय बताउँछन्।

यता जसपा नेपालबाट उम्मेदवार बनेका तत्कालिन माओवादी केन्द्रका नेता उमेश यादवको प्रभाव पनि यहाँ राम्राे छ। यो क्षेत्रमा जसपा नेपाल, लोसपा नेपाल र नेकपाको पनि राम्राे आधार छ।

उमेश यसअघि संविधान सभा सदस्य र मन्त्रीसमेत बनिसकेका नेता हुन्। ०७९ को निर्वाचनमा सप्तरी २ (ख) बाट उनले चुनाव लडेका थिए।तर उनी जनमतका महेश यादवसँग पराजित बने।

यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा भने उनी सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएर अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सिचाई मन्त्री पनि भएका थिए। तर २०७४ को निर्वाचनमा भने उनी उपेन्द्र यादवसँग पराजित भएका थिए।

संविधान सभा सदस्य हुँदा उनी संसदमा कुर्सी तोडेपछि चर्चामा आएका थिए।

उमेश यादवसँग गत निर्वाचनमा जसपा नेपालले ल्याएको १६ हजार ९७९ र लोसपाले ल्याएको ७ हजार ३४४ मतको बल छ। यसमा उनले तत्कालिन माओवादीको पनि मत बटुल्ने आश राखेका छन्।

तर स्थानीय तहमा जनमतका संगठनात्मक संरचना, युवामाझ रहेको प्रभाव र “पुराना दलविरुद्ध नयाँ विकल्प” भन्ने नारा र संसदीय कोषसहित सरकारको सहयोगमा सो क्षेत्रमा गरेका कार्यहरुको योगदानले डा. राउतलाई बलियो अवस्थामा ल्याउने सक्ने अपेक्षा पनि जनमतका नेताहरुको छ। 

यी तीन उम्मेदवारबाहेक डा. राउतलाई अन्य प्रमुख दलले खासै असर पार्न नसक्ने जनमतका नेताको तर्क छ। कांग्रेसले उम्मेदवार बनाएका रामकुमार यादव पार्टीको जिल्ला उपाध्यक्षसमे भइसकेका नेता हुन्। तर जनतामा उनको खासै पकड नरहेको विपक्षीको आरोप छ। फेरि उनी यस वर्ष पहिलो पटक चुनाव लड्दैछन्। 

एमालेका मो. जियाउल रहमान राजनीतिक भन्दा पनि सामान्य व्यवसायिक पृष्टभूमिबाट आएका पात्र हुन्। सप्तरी २ एमाले विरोधी क्षेत्रको रुपमासमेत परिचित छन्।

विगतमा राजविराजमा आयोजित सभामा एमाले अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रहरीको गोलीबाट मारिएका थिए। सो घटनाले उक्त क्षेत्रमा एमालेको पकड कमजाेर बनेको छ। 

नेकपाले उम्मेदवार बनाएका सूर्यनाथ यादव विगतमा तत्कालिन माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। तर उनी पहिलो पटक उम्मेदवार बनेकाले उनी अनुभवी नेतामा पर्दैनन्।

यसअघि उनी माओवादीबाट फोरम नेपालमासमेत गएकाले अस्थिर नेताको छबी पनि बनाएका छन्। त्यतिबेला उनले फोरमबाट श्रीमति लक्ष्मी चौधरीलाई समानुपातिक सांसदसमेत बनाएका थिए। 

उनी २०६३ सालको अन्तरिम संसदमा माओवादीबाट सांसद पनि बनेका थिए। फोरम नेपालमा गएर उनी फेरी माओवादीमा आएका थिए।यहाँ माओवादीको मत उमेश यादवले क्यास गर्न सक्ने सम्भावना बढी छ।

रास्वपाका रामजी यादवको पृष्टभूमि राजनीति होइन। उनी इन्जिनीयर पेशामै रहँदै उम्मेदवार बनेका हुन्। उनी जसपा नेपालको राजविराज नगरपालिकाका मेयर शम्भु यादवका ज्वाईं हुन्।

यस क्षेत्रमा रास्वपाका बरिष्ठ नेता बालेन शाहको क्रेज पनि खासै नरहेको स्थानीय बताउँछन्। 

०७९ को निर्वाचनमा सप्तरी २ मा नेपाली कांग्रेस र  एमालेले आफ्ना उम्मेदवार खडा गरेका थिएएनन। कांग्रेसको लोसपा र एमालेको जसपासँग गठबन्धन थियो। त्यतिबेला यहाँ रास्वपाका बरुण कुमार झाले २८१, राप्रपाका कैला मंसूरीले २३५ मत मात्रै पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad