राजनीति


रुकुममा सहिद परिवारलाई भेट्दै प्रचण्डले भने- सहिदका सपना बिर्सिनै सक्दिनँ

रुकुममा सहिद परिवारलाई भेट्दै प्रचण्डले भने- सहिदका सपना बिर्सिनै सक्दिनँ

नेपालखबर
माघ ७, २०८२ बुधबार १८:४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सहिदका सपना बिर्सिनै नसक्ने बताएका छन्। 

प्रचण्डले बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित जनयुद्धका सहिद परिवारसँग भेटघाट गरेका छन्। सहिद सीता घर्तीकी आमा सावित्रीलाई घरमै पुगेर भेटेका हुन्। भेटघाटका क्रममा प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बन्दा खुशी लागेको सावित्रीले सुनाइन्। 

अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा आशा पलाएको बताइन्। उनले जितको शुभकामना दिइन्। 

त्यस्तै, सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी आमा ८६ वर्षीया चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न प्रचण्डलाई सुझाव दिइन्। 

सहिद परिवारसँगको कुराकानीपछि प्रचण्डले सबै मिलेर सहिदका सपना पूरा गर्नुपर्ने बताए। ‘सहिदका सपना बिर्सनै सक्दिनँ। सहिदका सपना पूरा गर्न प्रयत्न गरिरहेको छु,’ उनले भने। 

सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको उनले जानकारी दिए। 

घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग भेटघाट गरिरहेका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad