कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही ४ मा एमालेले अन्तिम घडीमा उम्मेदवार परिवर्तन गरेको छ।
मंगलबार दिउँसोसम्म एमालेले आफ्नै पार्टीका पुराना कार्यकर्ता रविशंकर कुशवाहालाई सर्लाही ४ मा उम्मेदवार बनाउने तयारी गरेको थियो। सोही अनुसार कुशबाहा निर्वाचन अधिकृतको कार्यालयसमेत पुगिसकेका थिए।
तर, अन्तिम घडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशबाहाको ठाउँमा अमनिश कुमार यादवलाई उम्मेदवार बनाइएको पत्र पठाएका हुन्।

अमनिस सोमबार मात्रै नेकपा परित्याग गरेर एमाले प्रवेश गरेका शिवपुजन रायका छोरा हुन्।
रायले आफ्ना छोरालाई सर्लाही ४ को टिकट दिन नेकपाका संयोजक प्रचण्डलाई दबाब दिएका थिए। तर, प्रचण्डले सर्लाही ४ मा रायका छोरालाई टिकट दिन अस्वीकार गरेपछि उनले पार्टी छाडेका हुन्।
छोरालाई टिकट नदिएपछि शिवपुजनले छाडे नेकपा
एमालेले छाेरालाई टिकट दिएपछि शिवपुजनले मंगलबारै एमाले प्रवेश गरिसकेका छन्।
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा उम्मेदवार बन्ने भएपछि यहाँ एमालेले उम्मेदवार फेरेको एमालेका एक नेताले जानकारी दिए।
सर्लाही ४ मा नेकपाले रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट डा. अमरेशकुार सिंह उम्मेदवार बनेका छन्।

त्यसैगरि यहाँ उपेन्द्र यादव नेतृत्वको जसपाबाट रामेश्वर यादव उम्मेदवार बनेका छन् भने राप्रपाले प्रदीप झालाई उम्मेदवार खडा गरेको छ।
नेकपाका केन्द्रीय सदस्य र पूर्वमन्त्रीसमेत रहेका रामेश्वरले दुई दिनअघि मात्रै जसपा प्रवेश गरेका थिए।

गगन थापा उम्मेदवार बनेको सर्लाही ४ मा शिवपुजनका छोरा र अमरेशकुमार सिंहकोसमेत उम्मेदवारीले यहाँको चुनावी प्रतिस्पर्धा अझ रोचक हुने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया