प्रदेश सभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लामा ६ महिनाभित्रै निर्वाचन गरी पदपूर्ति गरिने जानकारी दिए।
उनले प्रतिनिधि सभा निर्वाचन लगत्तै रिक्त स्थानीय तह तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन गरिने बताए।
उनले भने, ‘कतिपय प्रदेश सभा सदस्य र पालिका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको छ। उहाँले निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि निर्वाचन आयोगले सरकारसँग सल्लाह गरेर ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो। पहिले हामी फागुन २१ मा गर्नुपर्ने निर्वाचन सम्पन्न गर्छौं। त्यसपछि खालि भएका पदहरूमा सरकारसँग सल्लाह गरेर निर्वाचन गरेर पदपूर्ति गर्छौं।’
उनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गरे।
Shares

प्रतिक्रिया