राजनीति


रोल्पामा उम्मेदवारी दर्तापछि वर्षमान: श्रीलंका र बंगलादेशपछि विदेशी शक्तिको खिचातानीमा नेपाल

रोल्पामा उम्मेदवारी दर्तापछि वर्षमान: श्रीलंका र बंगलादेशपछि विदेशी शक्तिको खिचातानीमा नेपाल

नेपालखबर
माघ ६, २०८२ मंगलबार १४:४३, रोल्पा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको चेपेटामा पर्ने खतरा रहेको बताएका छन्।

आउने फागुन २१ गते हुने प्रतिनिभिसभा निर्वाचनका लागि मंगलबार गृहजिल्ला रोल्पामा उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको दाबी गरेका हुन्। 

आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्ने विश्वास पनि उनले व्यक्त गरे। 

पुनले भदौ २३ मा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ गतेको विध्वंसमा देशी-विदेशी शक्तिको घुसपैठ भएको दाबी गरे।

राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले अग्रजले जोगाएर ल्याएको देश भावी पुस्तालाई सग्लै हस्तान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने चुनौती खडा भएको नेता पुनले बताए। 

देशको राजनीति के हुन्छ भन्ने सकिने अवस्था छैन। श्रीलंका, बंगलादेशपछि विश्व शक्तिहरूको खिचातानीले नेपाल भूराजनीतिक द्वन्द्वबाट प्रभावित भएको छ। २४ भदौको विध्वंसमा देशी-विदेशी शक्तिको घुसपैठ भयो’, पुनले भने, ‘राष्ट्रिय स्वाधीनता चुनैतीपूर्ण बनेको छ। अग्रजहरूले बनाएको देश सग्लै राखेर भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ कि सक्दैनौँ? त्यो चुनौती आज उभिएको छ।’

आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताका पक्षमा रहेको जिकिर गर्दै उनले रोल्पाली जनताको शिर झुक्ने नदिने प्रतिबद्धता जनाए।

आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जिल्ला छाडेको र मुख्य चुनाव प्रचारक सन्तोष सुवेदी नै नेकपा प्रवेश गरेपछि नेत्रविक्रम चन्द विप्लवले उम्मेदवारी नदिने घोषणा गरेसँगै आफ्नो जित सुनिश्चित भएको दाबी पनि पुनले गरे। 

‘रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा धेरै बलिदान गरेको जिल्ला हो। यहाँ हाम्रो पार्टीको जग भत्काउँछु भनेर सबै पार्टी लागेका छन्। बलिदानबाट बनेको यो जग भत्काउन दिँदैनौँ’, पुनले भने, ‘अमरसिंह पुनजी जिल्ला छाडेर अन्तै जानुभयो। विप्लवजीले चुनाव लड्ने घोषणा गर्नुभएको थियो। उहाँको प्रमुख चुनाव प्रचारक सन्तोष सुवेदी नै हाम्रो पार्टीमा प्रवेश गरेपछि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ। रोल्पामा हामीलाई जित्न कठिन छैन।’

उनले स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन सबैलाई आग्रह पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad