नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न फागुन २१ को निर्वाचन नलड्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् खड्काले विशेष महाधिवेशनविरूद्ध आफू अदालत गएकाले अहिले उम्मेदवार बन्नु राजनीतिक मूल्यमान्यता र नैतिकताको अडानको प्रतिकूल हुने बताए।
‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानविपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकट बाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथिहरु र आम मतदाताको माया, भरोसा र बिश्वास मप्रति हुदाहुँदै पनि यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु,’ उनले भनेका छन्।
आफू चुनाव नलड्ने निर्णयले पार्टीका साथीहरू र आम मतदाताको भावनमा हुने प्रतिकूलता र लाग्ने चोटकाप्रति खड्काले सबैसँग क्षमा मागेका छन्। ‘अन्तमा पार्टीका जो साथी उमेदवारको रूपमा रूख चुनाव चिह्न लिएर तपाईंहरूको बीचमा आउनु हुन्छ पार्टीको सोही उमेदवारलाई पार्टी पङ्तिका सबै साथीहरू एकताबद्व भइ निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनु हुन हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले भनेका छन्।
Shares

प्रतिक्रिया