नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाट चुनाव लड्ने भएका छन्।
देशकै सबैभन्दा पुरानो पार्टी कांग्रेसका नव निर्वाचित अध्यक्ष थापाले विगतदेखि निर्वाचन जित्दै आएको काठमाडौँको सुरक्षित क्षेत्र छाडेर मधेस रोज्नुलाई धेरैले चासोको साथ हेरेका छन्।
सर्लाही ४ कांग्रेसको परम्परागत जनाआधार भएको क्षेत्र पनि हो। तर, गएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए। सिंह कांग्रेसका पुराना नेता हुन्।
०७९ को प्रतिनिधिसभा निर्वाचन सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा यहाँ कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार यादव १८ हजार २५२ मत ल्याएर दोस्रो भएका थिए।
अघिल्लो निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रसहितका पाँच दलको समर्थन थियो। त्यति हुँदा पनि कांग्रेस उम्मेदवार नागेन्द्रकुमार १ हजार ७६५ मतान्तरले सिंहसँग पराजित भएका थिए।
अघिल्लो निर्वाचनमा यहाँ स्वतन्त्रबाट उम्मेदवार बनेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन्। मधुमालाकुमारी सोमबार मात्रै नेकपा छाडेका शिवपुजन रायकी छोरी हुन्। याे क्षेत्रमा यादव समुदायकाे बाहुल्यता छ।
परंपरागत रुपमा कांग्रेसको आधार क्षेत्र मानिने सर्लाही ४ मा यस निर्वाचनमा रास्वपाले सोमबार मात्रै पार्टी प्रवेश गरेका डा.अमरेश कुमार सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। रास्वपा सर्लाहीका सभापति सराेज बाँनियाले सर्लाही ४ मा सिंहले टिकट लिइसकेको बताए।
अघिल्लो निर्वाचनमा सर्लाही ४ (क) मा नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद सिंह विजयी भएका थिए।
Shares

प्रतिक्रिया