राजनीति


मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेलाई म आफैँ डेरा खोजिदिन्छुः ओली

मेरो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेलाई म आफैँ डेरा खोजिदिन्छुः ओली

नेपालखबर
माघ ५, २०८२ सोमबार १६:१४, ​झापा (दमक)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउनेहरूका लागि आफूले नै बस्ने व्यवस्था मिलाइदिने बताएका छन्। 

सोमबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

बाहिरी जिल्लाबाट आएर आफ्नो क्षेत्रमा उम्मेदवारी दिने चर्चामा रहेका व्यक्तिहरूलाई आफैंले डेरा खोजिदिने उनले बताए।

न घर छ, न डेरा
​ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका बालेन साहलाई त्यहाँको भूगोल र समाजसँग कुनै सम्बन्ध नभएको आरोप लगाए। उनले भने, ‘अहिले जो–जो मसँग चुनाव लड्न आउँछु भन्दै हुनुहुन्छ, उहाँहरूका लागि त यहाँ न घर छ, न डेरा छ। न परिवार, न आफन्त, न नातागोता। कसैलाई चिन्नुभएको पनि छैन।’

ओलीले ठट्टा गर्दै काठमाडौँका मेयर बालेन शाहको चर्चा पनि गरे। युवा पुस्तामा बालेनको प्रभाव रहेको स्वीकार गर्दै उनले भने, ‘मैले त के पनि सुनेको छु भने, कतिपय युवाहरूले दारी पालेको मान्छे देख्ने बित्तिकै ‘बालेन’ हो कि क्या हो भन्छन् रे। चिनेकै छैनन्, त्यसैले जो पनि बालेन जस्तो लाग्न सक्छ।’ 

बालेन भन्ने व्यक्तिलाई कसैले पनि नचिनेको ओलीले सुनाए।

आफ्नो क्षेत्रमा आउने प्रतिद्वन्द्वीहरूलाई आफूले सक्दो सहयोग गर्ने गर्ने उनले बताए।

‘यदि उहाँहरू चुनाव लड्न आउनुहुन्छ भने म आफैँ डेरा खोजिदिन्छु, उनले भने, ‘हाम्रो क्षेत्रमा आएपछि सुरक्षित महसुस गराउँछौँ। हामी डर–त्रास र आतंकको राजनीति गर्दैनौँ।’

अध्यक्ष ओलीले कतिपय मानिसहरू चर्चा कमाउनका लागि मात्र आफ्नो विरुद्ध उम्मेदवारी दिने घोषणा गरिरहेको दाबी समेत गरे। उनले एमाले शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको भन्दै सबैलाई आफ्नो क्षेत्रमा स्वागत रहेको बताए।

चन्द्रगढी विमानस्थलबाट सिधै उनी दमक पुगेका हुन्। दमकमा पत्रकार सम्मेलन गरी ओलीले कार्यकर्तासँग छलफल गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad