प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारबाट कल सेन्टर सञ्चालन गरेको छ।
निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘आजबाट कल सेन्टर सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ।समय क्रमशः थपिँदै लगिनेछ,’ भट्टराईले भने।
आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ। निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा रहनुपर्ने छैन।
सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहनेछ।
Shares

प्रतिक्रिया