राजनीति


पार्टी प्रमुख बनेपछि गगन थापाको पहिलो विज्ञप्तिमा फरक शैली ‘तपाईंको सभापति’

पार्टी प्रमुख बनेपछि गगन थापाको पहिलो विज्ञप्तिमा फरक शैली ‘तपाईंको सभापति’

नेपालखबर
माघ २, २०८२ शुक्रबार २२:१४, काठमाडौँ

विशेष महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले वैधानिकता दिएपछि गगन थापाले पार्टीको लेटरप्याडमा सभापतिका रूपमा पहिलोपटक विज्ञप्ति जारी गरेका छन्। 

जसमा उनले आफूलाई अघिल्ला सभापति वा कार्यवाहक सभापतिले भन्दा फरक शैलीमा प्रस्तुत गरेका छन्। 

त्यो हो- विज्ञप्तिको अन्त्यमा उनले ‘तपाईंको सभापति’ लेखेका छन्। जबकि हिजो मात्र माघे सक्रान्तिको शुभकामना सन्देश जारी गर्दा पूर्णबहादुर खड्काले पुछारमा पहिले आफ्नो नाम र त्यसमुनि कार्यवाहक सभापति लेखेका छन्। 

यस्तै शेरबहादुर देउवाले पनि माथि आफ्नो नाम र मुनि सभापति लेख्ने गरेका छन्।

नवनिर्वाचित कांग्रेस सभापति थापाले भने आफ्नो पहिलो आधिकारिक वक्तव्यमा फरक शैली अपनाएका हुन्।

विज्ञप्तिमार्फत उनले पार्टीका सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्। 

यस्तो छ सभापतिका रूपमा गगन थापाको पहिलो विज्ञप्ति-

एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपिल

प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ।

यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।

यसले स्थापित गरेको छ- पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य-मान्यता र आदर्शमा फर्केको छ।

विशेष महाधिवेशनमा सहभागी हुनुभएका/नहुनुभएका, सहमत हुनुभएका/नहुनुभएका सबै नेपाली कांग्रेसमा आबद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु- यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन, कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा  सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ।

आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबन्डा हुनेछैन, लाग्नेछैन, जिम्मेवारी फरक होला तर भुईं तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।

नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन, आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रूपान्तरित कांग्रेस देख्न चाहने तमाम देशभित्र र बाहिर रहेका लाखौँ शुभेच्छुकजनहरूप्रति विशेष आग्रह गर्न चाहन्छौँ- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धिलाइ समयको पदचापअनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ, अब कांग्रेस बदलिएको छ, बदलिनेछ।

अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपिल गर्दछौँ- नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षाअनुरूप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ, हामी बनाउनेछौँ। अब कांग्रेसले मूल्य र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो, त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ, यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।

अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली  अर्पण गर्दछौँ, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौँ, समस्त नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपिल गर्दछौँ। जय नेपाल!

तपाईंको सभापति
गगनकुमार थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad