नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अब नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन प्रयत्न गर्ने बताएका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई आधिकारिकता दिएपछि उनले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि समेटेर अगाडी बढ्ने बताएका हुन्।
‘हिजो दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरू पनि अब सँगै सहयात्रा गरौँ। हामी हिजो पनि एक थियौँ र भोलि पनि सँगै हुनेछौँ’, महामन्त्री पौडेलले भने, ‘हामी कसैले पनि हारेको रुपमा महसुस गर्नुपर्ने छैन। सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध बनाउन हाम्रा तर्फबाट इमान्दार प्रयत्न जारी रहनेछ।’
नेपाली कांग्रेस नयाँ जोश, नयाँ योजना र सुशासनको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भएको पनि पौडेलले बताए।
सबैको साझा प्रयासले काँग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाएको दाबी उनको छ।
‘अबको यात्रामा, युवा पुस्ता (जेन जी) ले उठाएको आवाजलाई बुलन्द पार्न चारतारे झण्डामुनि हामी सबै गोलबद्ध भएर बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा सहभागी हुनेछौं। जेनजी पुस्ताका साथीहरुलाई तपाईँले खोजेको रुपान्तरित नेपाल निर्माणको महाअभियानमा हामीसँगै सहकार्यका लागि आह्वान गर्दछौं’, महामन्त्री पौडेलले भने।
आम नागरिकले एक सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली कांग्रेस खोजेको उनको भनाई छ।
Shares

प्रतिक्रिया