गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपभासपति विश्वप्रकाश शर्माले कांग्रेस विवादबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
कांग्रेसको आधिकारिकताका विषयमा शुक्रबार निर्वाचन आयोगसँगको छलफलमा उपसभापति शर्माले चाँडो निर्णय हुनेपर्ने बताएका हुन्। ‘निर्वाचन आयोगले निर्णय गर्ने कुरामा ढिलो नगरिदियोस्। निर्णय गरिसकेपछि कसरी राष्ट्रव्यापी रुपमा माहोल बनाएर जाने भन्ने कुरामा हामी प्रतिबद्ध छौँ,’ शर्माले भने।
विशेष महाधिवेशनबाट गठन भएको कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्वाचनको तयारी गरिरहेको उनले बताए। ‘संसदीय बोर्ड पनि गठन गरिसकेको छ। हामी १६५ क्षेत्रैका लागि अबको दुई दिनभित्र उम्मेदवारी टुंग्याउने गरी हाम्रो टिमले तम्तयार भएर तयारी गरिरहेको छ,’ उनले भने।
नयाँ कार्यसमितिले घोषणापत्र लेख्ने लगायतका काम पनि गरिरहेको उनले जानकारी दिए। ‘घोषणापत्रको टिमले कार्य गरिरहेको छ। परिचालनको टिमले कार्य गरिरहेको छ,’ शर्माले भने।
फागुन २१ मै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्नेमा उनले जोड दिए। ‘निर्धारित समयमै निर्वाचन हुनुपर्दछ। यसमा हाम्रो सम्पूर्ण रुपले साथ रहन्छ। यसको कारणले कुनै असर पर्नुहुँदैन,’ शर्माले भने।
Shares

प्रतिक्रिया