काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आगामी माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको पुष्टि गरेका हुन्।
महानगरमा बालेन शाहको सारथिको रूपमा चिनिएका पाण्डेले अब के गर्छन्? यसमा सबैमा चासो देखिन्छ।
२०७९ भदौमा बालेन शाहले पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए। तत्कालीन प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर बालेनले पाण्डेलाई ल्याउनुको मुख्य कारण उनको 'कडा स्वभाव' र 'एक्सन ओरिएन्टेड' कार्यशैली भएको बताइन्छ। त्यतिबेला बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने, फुटपाथ खाली गराउने र नक्सा पास विपरीतका बेसमेन्टहरू हटाउने अभियान सुरु गरेका थिए। यो चुनौतीपूर्ण र विवादास्पद काम फत्ते गर्न बालेनलाई एक निडर सारथिको आवश्यकता थियो, जुन विश्वास उनले पाण्डेमाथि गरेका थिए।
थापाथलीमा डोजरदेखि असनमा हातपातसम्म
नगर प्रहरी प्रमुखको कार्यकालमा राजु पाण्डे बारम्बार विवादको केन्द्रमा रहे। २०७९ मंसिरमा थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन जाँदा र स्थानीयबीच ठूलो झडप भएको थियो। बिना विकल्प सुकुम्बासी बस्तीमा डोजर चलाउन बल प्रयोग गरेको भन्दै उनको मानवअधिकारवादीहरूले चर्को आलोचना गरेका थिए।
बानेश्वर, असन र न्युरोड क्षेत्रका फुटपाथ व्यवसायीको ठेला र सामान जफत गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको मकै पोल्ने ठेला खोसेको भिडियो सार्वजनिक भएपछि पाण्डेको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको थियो।
असन र इन्द्रचोक क्षेत्रमा पसल हटाउने क्रममा स्थानीय व्यापारी र नगर प्रहरीबीच पटक-पटक तनाव भएको थियो। व्यापारीलाई सार्वजनिक रूपमै धम्की दिएको र अभद्र व्यवहार गरेको आरोप व्यापारीले लगाएपछि पाण्डे ठूलो विवादमा परेका थिए।
सुरक्षा प्रमुख नै असुरक्षित?
पाण्डेको राजीनामाको मुख्य पृष्ठभूमि मेयर बालेन शाहको सम्भावित राजीनामा र परिवर्तित राजनीतिक समीकरणसँग जोडिएको देखिन्छ। सबैकुरा पहिला चर्चा भएजस्तै भएमा माघ ४ गते काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले राजीनामा दिनेछन्। यो कुरा पहिलै थाहा पाएका पाण्डेले आफूलाई महानगरभित्र 'असुरक्षित' महसुस गर्न थालेका थिए।
बालेनको संरक्षण र निर्देशनविना महानगरभित्र उनले यसअघि गरेका कारबाहीको जवाफदेहिता अब एक्लै व्यहोर्नुपर्ने भय बढेको थियो। निकटस्थहरूसँग भन्ने गरेका छन्, 'मेयर सा'ब नै नरहने अवस्थामा मेरो कमान्ड र सुरक्षाको ग्यारेन्टी छैन।' यही 'भ्याकुम'को महसुस गर्दै उनले कर्मचारीतन्त्रभन्दा राजनीतिको सुरक्षित अवतरण रोजेको काठमाडाैं प्लाजमा चर्चा छ।
पाण्डे माघ ३ गते महानगरबाट विदा हुनेछन्। त्यसपछि उनी पूर्णकालीन राजनीतिमा प्रवेश गर्ने बताइरहेका छन्।
यो पनि: काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
Shares

प्रतिक्रिया