नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निवर्तमान महामन्त्रीहरूले झुटो आश्वासन दिएर विशेष महाधिवेशनको नाममा भृकुटीमण्डको भेलामा बोलाइएको बताएका छन्।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पार्टी विभाजन हुने अवस्था आयो भने हलबाट निस्किने पहिलो व्यक्ति मै हुने छु भनेर (महामन्त्री विश्वप्रकाश शर्मा) झुटो आश्वासन, झुटो बचन दिएर इमान्दार महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशन नामको भेलामा बोलाएर पार्टीलाई दुर्घटनाको बाटोमा पुर् याउने काम भयो।’
पार्टीको एकता जोगाउनको लागि पार्टी सभापति शेरबहादुर देउवाले चुनावी टिकटबाट आफू हस्ताक्षर नगर्न तयार हुँदा पनि गगन समूहले नमानेको उनले बताए।
‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईँले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु सभापतिले भन्नुभएको थियो। पार्टीको विखण्डन रोक्नको लागि। उहाँहरूले (गगन–विश्व) ले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो,’ उनले भने, ‘सभापतिले समेत बोलाएर छलफल गर्नु भयो। तपाईंहरूकै निर्णयले मेरो सही चल्यो। राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ। प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ। अहिले प्रत्यक्षको बेला आएको छ। टिकटमा हस्ताक्षर तपाईंले जसलाई भन्नुहुन्छ उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भन्नु भएको हो। ३० गते बिहान।’
पार्टीको अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिइएकोप्रति आपत्ति जनाउँदै खड्काले गगन–विश्वले झुटा र गलत कुरा गरेको बताए। निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने कावा सभापति खड्काले चेतावनी दिए।
केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने उनको भनाइ छ।
Shares

प्रतिक्रिया