राजनीति


निर्वाचन आयोगलाई शेखरको प्रश्न: टुँडिखेलमा गएर कुनै आयुक्तले माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने मान्य हुन्छ?

निर्वाचन आयोगलाई शेखरको प्रश्न: टुँडिखेलमा गएर कुनै आयुक्तले माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने मान्य हुन्छ?

नेपालखबर
माघ २, २०८२ शुक्रबार ११:३४, काठमाडौँ

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन गरिएपछि संस्थापन सभापति शेरबहादुर देउवाको पक्षले आज (शुक्रबार) बिहानै निर्वाचन आयोग पुगेर त्यो बदर गर्न माग गरेको छ। 

त्यस क्रममा नेता शेखर कोइरालाले आयोगलाई व्यक्तिलाई होइन, संस्थालाई मान्यता दिन आग्रह गरे। 

उनले भने, ‘म एउटै प्रश्न गर्न चाहन्छु-आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले माघ ६ गते नोमिनेसन (मनोनयन)  हुँदैन भन्यो भने त्यो निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन? व्यक्ति होइन, हामीहरूले संस्था खोजेको। संस्थालाई हेरेर हामी अगाडि जानुपर्ने हुन्छ।’

माघ ६ गतेको प्रसंग कोइरालाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ताका  सन्दर्भमा निकालेका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पुगेका नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग सिंगो केन्द्रीय समिति र सदस्य आफूसँग रहेको दाबी गरेका थिए। 

कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको दाबी पनि गरे। 

उनले भने, 'विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ।'

यस्तै कार्यवाहक सभापति खड्काले पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरे।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाएका थिए।‍

यसअघि गगन थापा पक्षले बिहीबार मात्र नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad