गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको पदाधिकारीको टिम अन्य राजतीतिक दलको तुलनामा समावेशी देखिएको छ भने सबै जसो ‘विद्रोही’ पृष्ठभूमिबाट आएका छन्।
विशेष महाधिवेशनबाट १३ जना पदाधिकारी सर्वसम्मत चयन गरिँदा सातै प्रदेश, सबै क्लस्टरबाट प्रतिनिधित्व भएको छ। कोशी प्रदेशबाट उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री डिला संग्रौलाले मौका पाउँदा मधेस प्रदेशबाट सहमहामन्त्री फमुल्लाह मन्सुर र मुक्ता यादव केन्द्रमा आएका छन्।
बागमती प्रदेशबाट सभापति थापासहित सहमहामन्त्री उदयशम्शेर राणा र बहादुरसिंह लामा पदाधिकारी बनेका छन्। यस्तै गण्डकी प्रदेशबाट महामन्त्री प्रदीप पौडेल छन् भने लुम्बिनी प्रदेशबाट उपसभापति पुष्पा भुसाल र सहमहामन्त्री योगेन्द्र चौधरीले स्थान पाएका छन्। कर्णाली प्रदेशबाट कर्णबहादुर बुढा सहमहामन्त्री बन्दा सुदूरपश्चिम प्रदेशबाट प्रकाश स्नेही रसाइली पदाधिकारीमा आएका छन्।
रोचक त के छ भने शेरबहादुर देउवाको साथ छोडेर आएका नेताहरू थापा नेतृत्वको कांग्रेसमा पदाधिकारी बनेका छन्। देउवाको साथ छोडेका ७ जनाले नै थापा नेतृत्वको कार्यसमितिमा मौका पाएका छन्।
१४औं महाधिवेशनमा देउवा प्यानलबाट केन्द्रीय समितिमा निर्वाचित पुष्पा भुषाल, फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, बहादुरसिंह लामा, योगेन्द्र चौधरी, डिला संग्रौला र कर्णबहादुर बुढाले विशेष महाधिवेशन रोजेका थिए। विशेष महाधिवेशन पक्षधरले पनि उनीहरूलाई पदाधिकारी बनाएको छ।
राजनीतिक उचाइमा गगन
कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी कांग्रेस निकट नेपाल विद्यार्थी संघमा लागे।
नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्रिचन्द्र स्ववियुमा सदस्य र सचिव हुँदै उनी सभापति बनेका थिए।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको उपस्थित बलियो बन्यो। त्यसको दुई वर्षपछि २०५७ सालमा नेविसंघको केन्द्रीय उपसभापति बने भने २०५९ सालदेखि २०६१ सालसम्म महामन्त्री भएर काम गरे।

संसद् र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो। कांग्रेसको १२औँ महाधिवेशनमा सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भए।
त्यसपछि १३औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरे। त्यतिवेला महामन्त्रीमा पराजित भए।
चार वर्षपछि १४औं महाधिवेशनमा उनले समूह परिवर्तन गरेर डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा अत्याधिक मतले निर्वाचित भए। अहिले विशेष महाधिवेशनबाट सभापति बनेका छन्।
विश्वप्रकाश र पुष्पाको फेरिएको यात्रा
२०२७ पुस ६ मा झापाको शान्तिनगरमा जन्मिएका विश्वप्रकाश शर्माको राजनीति यात्रा झापामा विद्यालय तहमा पढ्दादेखि नै सुरु भएको थियो। २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ एकाइ सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका विश्वप्रकाश २०४१ सालमा कक्षा ९ मा पढ्दा पहिलो पटक प्रहरी गिरफ्तारीमा परेका थिए। २०४७ सालमा नेविसंघ झापाको सभापति भएका उनी २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बने। २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ सालमा नेविसंघ केन्द्रीय उपसभापति भए।
२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति हुँदा नै २०५७ सालमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए। नेविसंघको राजनीतिपछि कांग्रेस जिल्ला राजनीतिमा सक्रियता बढाएका थिए। तर १२औँ महाधिवेशनमा झापा सभापतिमा पराजित भए। चार वर्षपछि २०७२ सालमा भएको १३औँ महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए।
२०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका उनी २०७६ सालमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने। प्रवक्ता भएर शर्माले उदाहरणीय काम गर्न सफल भएका थिए। १४औँ महाधिवेशनमा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका उनी महामन्त्रीमा निर्वाचित भएका थिए।
विश्वप्रकाशको पार्टी र संसदीय राजनीति सरल रेखामा हिडेको छैन। २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका उनी २०७९ सालको निर्वाचनमा विजयी भए।
२०७९ मंसिरदेखि २०८२ भदौसम्म सशक्त सुनिएका उनीसँग राज्य सञ्चालनको अनुभव छैन। विशेष महाधिवेशनमा गगनलाई सभापति प्रस्ताव गरेका विश्वप्रकाश उपसभापति बनेका छन्।

कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति चयन पुष्पा भुसालको राजनीतिक यात्रा ५० वर्ष लामो छ। कांग्रेसका संस्थापक नेता काशीनाथ गौतमकी छोरी पुष्पा २०१७ फागुन १ गते अर्घाखाँचीमा जन्मिएकी हुन्। कानुनमा स्नातकोत्तर गरेकी उनी २०२८ सालदेखि कांग्रेसमा आबद्ध छिन्।
नेपाल महिला संघको महासचिव रहिसकेकी उनी पटकपटक कांग्रेस केन्द्रीय सदस्य भएकी थिइन्। २०५६ सालको आम निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएकी उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएकी थिइन्।
२०७४ सालमा समानुपातिक सांसद बनेकी उनी कांग्रेस संसदीय दलको सचेतक भएकी थिइन्। त्यही कार्यकालमा उनलाई प्रतिनिधि सभाको उपसभामुख हुने सौभाग्य जुर्यो।
२०७९ सालको निर्वाचनमा अर्घाखाँची-२ बाट प्रत्यक्ष चुनाव लडेकी उनी पराजित भइन्। कांग्रेस सभापति देउवाको निकट रहेर काम गरेकी उनी यस पटक विशेष महाधिवेशनबाट उपसभापति बनेकी छन्।
२३ वर्षपछि गुरु-प्रदीप सँगसँगै
विशेष महाधिवेशनले नेविसंघको राजनीतिबाट उदायका प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्री चयन गरेको छ। २०३२ चैत १ मा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ मा जन्मिएका प्रदीपको राजनीतिक यात्रा अमृत क्याम्पसमा नेविसंघमा सुरु भएको थियो। उनी २०५३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अमृत क्याम्पसको सभापतिमा निर्वाचित भए।
२०५७ देखि २०५९ सालसम्म नेविसंघको केन्द्रीय समितिमा रहेर काम गरेका प्रदीप २०५९ देखि २०६४ सालमा तीन पटक नेविसंघको उपाध्यक्ष भए। त्यसपछि २०६५ सालमा नेविसंघको अध्यक्ष बने।
नेविसंघबाट बाहिरिएर कांग्रसको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका पौडेल पराजित भए। तर, तत्कालीन पार्टी सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। चार वर्षपछि २०७२ सालमा भएको १३औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए।
२०७४ सालको निर्वाचनमा तनहुँबाट गण्डकी प्रदेश सभा सदस्यमा ६ मतले पराजित उनी २०७९ सालको निर्वाचनमा काठमाडौँ-५ मा नेकपा (एमाले)का तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका थिए। २०८१ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरेको पनि नेविसंघबाट राजनीति यात्रा सुरु भएको हो। २०५९ सालमा नेविसंघको अध्यक्ष बनेका गुरुराज १२औँ महाधिवेशनबाट पार्टी राजनीतिमा लागेका थिए।
कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भए। त्यस्तै, १४औँ महाधिवेशनमा कांग्रेसको कोशी प्रदेश सभापतिमा उद्धव थापासँग एक मतले पराजित भएका थिए।
२०७९ सालको निर्वाचनमा मोरङबाट प्रदेश सभा सदस्यमा पनि पराजित भएका थिए। उनी अहिलेसम्म संसदीय राजनीतिमा सफल हुन सकेका छैनन्।
कस्ता छन् आठ सहमहामन्त्री?
संवैधानिक व्यवस्था अनुरुपको क्लस्टर बमोजिम कांग्रेसमा ८ जना सहमहामन्त्रीको व्यवस्था छ। कांग्रेसको १४औँ महाधिवेशनमा मुस्लिम कोटाबाट सहमहामन्त्री निर्वाचित भएका फरमुल्लाह मंसुर विशेष महाधिवेशनबाट पनि दोहोरिएका छन्।
भारतको पटनामा २०२८ सालमा कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको हातबाट पार्टीको सदस्यता लिएर कांग्रेस प्रवेश गरेका फरमल्लाह २०३४ सालमा कांग्रेस बाराको उपसचिव बनेका थिए। त्यसपछि उनी जिल्ला सचिव पनि बने।
२०४८ देखि २०५७ सालसम्म कांग्रेस बाराको सभापति भएका फरमुल्लाह त्यसपछि केन्द्रीय सदस्य र सहमहामन्त्रीसम्म बने। बाराबाट पटक-पटक सांसद भएका उनी दुई पटक मन्त्री समेत भइसकेका छन्।
यस्तै, खस आर्यबाट सहमहामन्त्री बनेका उदयशमशेर राणा विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका थिए। उदयको राजनीतिक यात्रा अध्ययनका क्रममा भारतमा रहेका वेला नेविसंघ दिल्लीको अध्यक्ष बनेर सुरु भएको हो। नेपाल तरुण दल, ललितपुर अध्यक्ष बनेका उनले तरुण दलको केन्द्रीय अध्यक्षको बन्ने अवसर पाएका थिए।

२०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा पराजित उदय २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए। अर्थ राज्यमन्त्री बनेका उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए। त्यसपछि २०७९ सालको प्रतिनिधि सभामा पनि उनी विजयी भए।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। अहिले विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका छन्।
दलित क्लस्टरबाट सहमहामन्त्री बनेका प्रकाश रसाइली कांग्रेसभित्र दलित समुदायको सशक्त आवाजका रुपमा चिनिन्छन्। नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव प्रकाश विद्यार्थी जीवनबाटै राजनीतिमा आएका थिए।
नेविसंघको केन्द्रीय सदस्य बनेका उनी कांग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए। २०७४ सालमा कांग्रेसको समानुपातिक सांसद बनेका उनी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
आदिवासी-जनजाति क्लस्टरबाट सहमहामन्त्री बहादुरसिंह लामा कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। २०२७ कात्तिक ८ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका बहादुरले २०४३ सालमा नेविसंघको सदस्यता लिएका थिए।
नेविसंघको शंकरदेव क्याम्पस एकाईको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरेका उनी २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका थिए। त्यसपछि उनी कांग्रेस नुवाकोटको उपसभापति भएका थिए।
२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए।
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचन नुवाकोट-३ बाट पराजित उनी २०६९ सालमा दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए। २०७४ सालमा समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी त्यसपछि प्रदेशतिर गएका थिए।
२०७९ सालमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमतीको आर्थिक मामिला तथा योजनामन्त्री भए। त्यसपछि बागमतीको मुख्यमन्त्री समेत बने।
थरू क्लस्टरबाट सहमहामन्त्री बनेका योगेन्द्रसिंह चौधरीको पनि नेविसंघबाट राजनीतिक यात्रा सुरु भएको थियो। नेविसंघको राजनीति गर्दा गर्दै कांग्रेस नेता विजयकुमार गच्छदारले २०६४ सालमा पार्टी विभाजन गरेपछि योगेन्द्र पनि उतैतिर लागे।
गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा महामन्त्री रहेका उनी २०७४ सालको निर्वाचनअघि कांग्रेसमा आउँदा केन्द्रीय सदस्य भएका थिए। २०७० सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद बनेका उनी संसदीय दलको प्रमुख सचेतक समेत भएका थिए।
दाङको देउखुरी उपत्यकाका स्थायी बासिन्दा योगेन्द्र कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। उनी थारू विभाग प्रमुख पनि थिए। अहिले विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका छन्।
महिला क्लस्टरबाट सहमहामन्त्री बनेकी डा.डिला संग्रौला (पन्त)को राजनीतिक यात्रा विद्यार्थी जीवनमै सुरु भएको थियो। दाङको महेन्द्र बहुमुखी क्याम्पस मा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको कार्यसमिति सदस्य निर्वाचित भएकी थिइन्।

नेपाल महिला संघको अध्यक्ष भइसकेकी उनी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। २०७४ सालमा कांग्रेस समानुपातिक सांसद बनेकी उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएकी छन्।
मधेसी क्लस्टरबाट सहमहामन्त्री बनेकी मुक्ताकुमारी यादवको जन्मथलो महोत्तरी हो। हाल धनुषाको धनुषाधाम नगरपालिका-२ मा बस्दै आएकी उनको राजनीतिक यात्रा २०५३ सालमा सुरु भएको हो।
कांग्रेस राजनीतिमा आउनुअघि उनी शिक्षण पेशामा आवद्ध थिइन्। २०५३ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी उनी त्यसपछि नेपाल शिक्षक युनियनमा आबद्ध भइन्। २०५७ सालमा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि भएपछि तत्कालीन नेकपा (माओवादी)को धाकमम्कीका कारण जिल्लाबाट विस्थापित भइन्।
२०७० सालको दोस्रो संविधान सभामा समानुपातिक सभासद् भएकी उनी २०७४ सालमा राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि उनी २०७९ सालमा समानुपाकिबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। त्यतिवेला उपभामुखमा पराजित हुनुबाहेक मुक्ताले राजनीतिक यात्रामा पछाडि फर्किनु परेको छैन।
पीछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका कर्णबहादुर बुढाको पृष्ठभूमि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो। २०७६ कात्तिकमा राप्रपा सयुक्तका केन्द्रीय सदस्य बुढासहित ५३ जना कांग्रेस प्रवेश गरेका थिए।
त्यसपछि कांग्रेसको १४औँ महाधिवेशनमा हृदयराम थानीलाई १ मतले हराउँदै केन्द्रीय सदस्य बनेका थिए। अहिले उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका छन्।
Shares

प्रतिक्रिया