राजनीति


महाराजगन्जमा देउवा र २ महामन्त्री वार्तामा व्यस्त हुँदा सानेपामा अन्योल (तस्बिरहरू)

महाराजगन्जमा देउवा र २ महामन्त्री वार्तामा व्यस्त हुँदा सानेपामा अन्योल (तस्बिरहरू)

सरोज नेपाल
पुस ३०, २०८२ बुधबार ९:५२, काठमाडौँ

देउवा निवास महाराजगन्जमा संस्थापन र विशेष महाधिवेशनबिच वार्ता चलिरहँदा यता सानेपामा आज बिहान ८ बजे नै सुरु हुने भनिएको  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अन्योलमा परेको छ। 

बैठकमा सहभागिताका लागि नेताहरू सानेपा पुग्ने क्रम जारी छ।

तर उता महाराजगन्जमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशर्माबिच वार्ता चलिहरेको छ। 

जसका कारण दोस्रोपटक आज बिहान ८ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सुरु हुन सकेको छैन। 

केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा भेला भएका नेताहरू

केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ। 

पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवा पक्षले संवादमार्फत सहमतिको प्रयास तीव्र बनाएको छ।

विशेष महाधिवेशन पक्ष र संस्थापनबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति जुट्न नसकेपछि आज पनि बिहानैदेखि छलफल भइरहेको हो। 

सोही क्रममा अहिले देउवा निवास महाराजगन्जमा सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्मासहित दुई पक्षबिच वार्ता जारी छ।

देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। 

सहमतिकाे अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनकाे टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ। 

‘सभापति देउवा त्यसका लागि तयार देखिनुभएको छ’, देउवानिकट स्राेतले नेपालखबरसँग भन्यो।

यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनकाे दस्तावेज केन्द्रीय कार्यसमितिमा अध्ययन, संशोधन र परिमार्जन गरेर ग्रहण गर्न सहमत भइसकेको छ।

यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय लागु गर्न पनि संस्थापन तयार छ। 

यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनकाे टिकट वितरणका लागि संसदीय बाेर्ड बनाउन संस्थापन पक्ष सहमत भएकाे थियाे।

एक नेताका अनुसार टिकट न्यायाेचित ढंगले वितरण गर्ने, संसदीय बाेर्डकाे निर्णय नै कार्यान्वयन गर्नेलगायत कुरामा दुवै पक्ष सहमतिमा पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad