(कांग्रेस महामन्त्री गगन थापाले सोमबार विशेष महाधिवेशनमा पेश गरेको २४ पेजको राजनीतिक प्रतिवेदनमा २ ठाउँमा जेन-जी आन्दोलनको प्रसंग तथ्यसहित उल्लेख छ। पहिलो, प्रस्तावना खण्डमै 'जेनजी विद्रोह र विशेष महाधिवेशनको अवश्यकता' शीर्षकमा छ भने दोस्रो, 'राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प' खण्डमा छ। यो लेख, यी दुइ खण्डमा थापाले जेनजी विद्रोहबारे उल्लेख गरेका विषयको मर्म जस्ताको तस्तै राखेर राखेर तयार पारिएको हो।)
गत भदौ २३ र २४ गतेको त्यो 'जेन-जी' विद्रोह नेपाली राजनीतिको एउटा त्यस्तो प्रस्थानबिन्दु बन्यो, जसले दशकौँदेखि जकडिएको शक्ति संरचना र असक्षम नेतृत्वको निरन्तरतालाई निर्ममतापूर्वक प्रश्न मात्र गरेन, त्यसलाई विस्थापित गर्ने सामर्थ्य समेत राख्यो। सडकमा पोखिएको त्यो आक्रोश केवल राजनीतिक परिवर्तनका लागि मात्र थिएन, बरु राज्यका संस्थाहरूको क्षयीकरण, व्याप्त कुशासन र भ्रष्टाचारविरुद्धको एउटा सामूहिक विस्फोट थियो। विडम्बना, जुन बेला संसद् र सरकारको नेतृत्वदायी भूमिकामा रहेको नेपाली कांग्रेसले यी विसंगतिलाई रोक्नुपर्ने थियो, त्यही बेला ऊ आफैँ यो दलदलको एउटा हिस्सा बनिरहेको थियो।
अहिलेको संक्रमणकालीन घडीमा कांग्रेसका सामु एउटा गम्भीर आत्मबोधको अवसर आएको छ। इतिहासका हरेक संकटमा देशलाई निकास दिएको यो पुरानो पार्टी आज आफैँभित्रको जडता र अकर्मण्यतासँग जुधिरहेको छ। विधान मिच्ने र संवादलाई निषेध गर्ने नेतृत्वको शैलीले कांग्रेसलाई आफ्नै आधारभूत सिद्धान्तबाट विमुख गराउँदै गर्दा 'विशेष महाधिवेशन' अब केवल वैधानिक प्रक्रिया मात्र रहेन, बरु पार्टीको अस्तित्व रक्षा र जनविश्वास पुनर्जागृत गर्ने अन्तिम कडी बनेको छ। अब प्रश्न केवल कांग्रेस सुध्रिनेमा छैन, प्रश्न त कांग्रेसले देशलाई फेरि नेतृत्व दिने नैतिक साहस जुटाउन सक्छ कि सक्दैन भन्नेमा छ।
जेन-जी विद्रोहको मर्म परिवर्तन हो। हामीले लिएका नीतिमा परिवर्तन, अपनाइरहेका तौर तरिकामा परिवर्तन, प्रवृत्तिमा परिवर्तन, कतिपय पात्रमा परिवर्तन। हामी संसदमा सबै भन्दा ठूलो दल र हामी सम्मिलित सरकारविरुद्ध भएको आन्दोलन भएका कारण हामीभित्र पनि परिवर्तनको आवश्यकता देखाएकै हो। यही महसुस गरेर पार्टीका तमाम साथीहरूले परिवर्तनको लागि आवाज उठाउनु भयो। पार्टीको तल्लो तहमा परिवर्तनको आवाज मुखरित हुँदै गर्दा केन्द्रमा भने हामीले निर्णय लिनै नसक्ने अवस्थामा पुग्नु विडम्बनाको विषय हो।
इतिहासका खासखास चरणमा नेपाली कांग्रेस पार्टीले खास निर्णय गरेर आफ्नो मौलिक पहिचान स्थापित गरेको छ। स्थापनाकालमा स्वतन्त्रता, नागरिक सर्वोच्चता, मानवअधिकार, एकतन्त्रीय राणा शासनबाट मुक्ति र प्रजातन्त्रको स्थापना जस्ता जनभावनालाई पार्टीले वाणी दिएको थियो। २०४६ सालमा जन अधिकारको बहाली र बहुदलीय व्यवस्थाको स्थापना पार्टीका मूलमन्त्र थिए।
२०६२ र ०६३ पश्चात लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशीताका मुद्दामा कांग्रेसले लोकतान्त्रिक संविधान मार्फत निकासको बाटो कोरेको थियो। हामीले त्यही परिवर्तनकारी दृष्टिकोणका साथ जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै यस विशेष महाधिवेशनबाट भविष्यको यात्रा तय गर्नु पर्नेछ।
स्थापनाकालदेखि नै नेपाली कांग्रेसले राष्ट्रका सामु उत्पन्न असाधारण परिस्थितिमा मुलुकलाई सम्हालेर सबैका लागि मान्य हुने निकास दिदै आएको छ। व्यक्ति र पार्टीभन्दा माथि देश र जनताको हित हुने गरी कांग्रेसले पहलकदमी लिने गरेको गौरवपूर्ण इतिहास हाम्रा सामु छ। आज पनि नेपाली कांग्रेसले राष्ट्रिय शक्ति भएका हिसाबले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनु पर्नेछ। कांग्रेसले नै दिशाहीन हुँदैगएको देशलाई सम्हाल्ने छ र रूपान्तरणकारी नेतृत्व दिनेछ। त्यही दिशामा गम्भीर भएर चिन्तन मनन गर्न यो विशेष महाधिवेशन अपरिहार्य भएको छ।
यद्यपि देशको वर्तमान अवस्थामा आमूल परिवर्तन हामीले नै ल्याउँछौं भनेर मात्र हुँदैन, मतदाता पनि त्यसमा विश्वस्त हुनुपर्छ। मतदातामा नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र छैनन्, लाखौं नेपाली जनता छन्।
त्यसैले हामी आफैँले पार्टीको विधान मानेनौँ भने हामी संविधान र कानूनको शासनमा विश्वास गछौँ भनेर आम नेपाली जनतालाई कसरी विश्वस्त तुल्याउने रु हामी आफैंभित्र संवाद गर्न र सुधार गर्न तयार छैनौं भने हामी कसरी भन्न सक्छौं, कि हामी सच्चियौं, सुधियौं। यही आलोकमा नेपाली कांग्रेसको यो विशेष केन्द्रीय महाधवेशनलाई हेर्नुपर्दछ। यो महाधिवेशन नै आजको दिनमा हामीले हामीभित्र सार्थक परिवर्तन लिएर आउने वैधानिक आधार हो र हामीले जनताको विश्वास बढाउने प्रस्थान बिन्दु पनि यही हो। त्यसैले, वर्तमान परिस्थितिको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै भविष्यका लागि मार्गचित्र तयार गर्ने सर्वोच्च वैधानिक निकाय महाधिवेशन नै भएकोले विशेष महाधिवेशनको आयोजना अपरिहार्य भएको हो।
जेन-जी विद्रोह र कांग्रेसको संकल्प
भदौ २३ र २४ गते नेपाली राजनीतिका लागि केवल पात्रोका दुई दिन मात्र रहेनन्, ती त राज्य र नागरिकबीचको टुट्दो सम्बन्धको एउटा बीभत्स ऐना बनेर आए। सडकमा युवा पुस्ताको त्यो अभूतपूर्व जागरण र त्यसलगत्तै भएका दमन र विध्वंशका घटनाले स्थापित शक्ति संरचनाको जग नै हल्लाइदिएका छन्। 'जेन-जी' भनिने नयाँ पुस्ताले उठाएको सुशासन, पारदर्शिता र भागबण्डारहित राजनीतिको माग कुनै सतही आक्रोश मात्र थिएन, बरु यो देशको शासकीय पद्धतिमा दशकौँदेखि जकडिएको बेथितिविरुद्धको एउटा युगीन विद्रोह थियो।
इतिहासको यो जटिल मोडमा उभिएर नेपाली कांग्रेसले जुन आत्मबोध र संकल्पको साहस देखाएको छ, त्यसले पार्टीलाई आफ्नै विगतको कमजोरीसँग साक्षात्कार गराएको छ। विगतमा सत्ताको बागडोर सम्हाल्दा सुशासन र सेवा प्रवाहमा देखिएका छिद्रहरूलाई स्वीकार गर्दै कांग्रेसले अब आफूलाई 'सच्चिने' र 'बदलिने' कठिन बाटोमा उभ्याएको छ। संवैधानिक निकायहरूको स्वायत्तता र विश्वविद्यालयहरूमा दलीय भागबण्डाको अन्त्य गर्ने जस्ता संकल्पहरू सुन्दा जति आकर्षक छन्, तिनको कार्यान्वयन झनै चुनौतीपूर्ण छ। भदौको त्यो विद्रोहले दिएको सन्देश स्पष्ट छ— अब पुरानै ढर्राबाट राज्य चल्न सम्भव छैन। त्यसैले, यो विशेष महाधिवेशनमार्फत कांग्रेसले गर्न खोजेको 'साझा राष्ट्रिय समझदारी' को आह्वान केवल राजनीतिक नारा मात्र नभएर दिशाहीन बन्दै गएको मुलुकलाई लोकतान्त्रिक ट्र्याकमा फर्काउने एउटा गम्भीर प्रयत्न हो। उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ।
(क) भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ।
(ख) युवा पुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पुँजी र युगीन चेतनापुञ्ज हो। युवा पुस्ताले आन्दोलनमार्फत व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई उच्च सम्मान गर्दै युवा पुस्तालाई पार्टीको हरेक तहमा आन्तरिक साङ्गठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्वको सुनिश्चितताको लागि नीतिगत र संरचनागत प्रबन्धसहितको व्यबस्था गर्न यो विशेष महाधिवेशनमार्फत दृढ प्रतिबद्धता व्यक्त गर्दछ।
(ग) भाद्र २३ र २४ को विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको छ। “भ्रष्ट्राचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” को त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ। जेन-जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ।
सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य-मान्यताविपरीत नगई रूपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ। नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ। त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
(घ) नेपाली कांग्रेस विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहलकदमी अपूर्ण भएको र प्रभावकारी ढङ्गले अगाडि वढाउन नसेकेको तथ्यप्रति आत्मआलोचित हुँदै त्यस्ता कमी-कमजोरीलाई अब नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछ। सुशासनको प्रत्याभूति र विधिको शासनलाई मजबुत बनाउन राज्यका संवैधानिक निकाय, नियामक अंग र विशिष्टीकृत अनुगमनकारी संस्थाहरूको स्वायत्तता सुनिश्चित गर्दै तिनलाई दलीय राजनीतिक प्रभावबाट पूर्णतः मुक्त राख्ने संकल्प गर्दछ। संवैधानिक निकाय, विश्वविद्यालय, सार्वजनिक संस्थान र सेवा प्रदायक निकायहरूमा व्याप्त राजनीतिक भागबण्डाको अन्त्य गरी ती संस्थाहरूलाई पूर्णतः व्यावसायिक, गैरदलीय र योग्यताका आधारमा सञ्चालन हुने र समावेशी प्रतिनिधित्व हुने गरी व्यापक संरचनात्मक सुधार गरिने छ।
भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानून निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ।
Shares

प्रतिक्रिया