विशेष महाधिवेशनमा आएका नेपाली कांग्रेसका कार्यकर्ताहरूले पुरानो नेतृत्वबाट दिक्क भएको र जसरी पनि नेतृत्व बदलिनुपर्ने बताएका छन्। नवयुवाहरू मात्र होइन, वृद्ध प्रतिनिधिहरू पनि नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।
जेनजी आन्दोलनपछिको विषम परिस्थितिलाई ध्यानमा राखेर नेपाली महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको दोस्रो विशेष महाधिवेशनले नयाँ नीति र नेतृत्व स्थापित गरोस् भन्ने उनीहरूको चाहना छ।
विशेष महाधिवेशन ५५ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्।
दशकौँदेखि एउटै व्यक्तिले पार्टी हाँकेका कारण उत्पन्न असन्तुष्टिलाई चिर्न र युवा पुस्तालाई निर्णायक भूमिकामा ल्याउन यो महाधिवेशनले मार्ग दर्शन गर्ने कुरामा आफू विश्वस्त रहेको डेनमार्कस्थित जनसम्पर्क समितिमा आबद्ध एक प्रतिनिधि बताउछन्। वर्तमान नेतृत्वले कार्यकर्ताको भावना बुझेर मार्ग प्रशस्त गर्नु पर्ने र पार्टीलाई विभाजन हुनबाट जोगाएर नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने उनको धारणा छ।
‘जेनजी पुस्ताको आन्दोलन र उनीहरूको चाहानालाई सम्बोधन गर्न कांग्रेसले आफ्नो कार्यशैली र फेस भ्यालु सुधार्न आवश्यक छ,’ उनले भने।
वर्तमान नेतृत्वकर्ताबाट अब पार्टी अगाडि बढ्न नसक्ने देखिएकोले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको युवा प्रतिनिधि मुकेश घिमिरे बताउँछन्।
घिमिरे भन्छन्, ‘नेपाली कांग्रेसले नयाँ यात्रा गर्नको लागि अब सान्दर्भिक भएर नयाँ नेतृत्व चयनको प्रक्रियामा मात्र हैन, नयाँ नीति चयनको प्रक्रियामा पनि प्रवेश गर्नुपर्छ भन्ने महसुस गरेर यहाँ आएका हौँ।’
विधान अनुसार हरेक तहगत संरचनामा ३० वर्षमुनिका १५ प्रतिशत युवा सहभागिता गराउनुपर्नेमा त्यसलाई बढाएर ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिता हुनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए।
विशेष महाधिवेशनमार्फत कयौँ नयाँ व्यवस्था गर्न लागिएको छ। जसले बुढो भएको कांग्रेसलाई फेरि जवान बनाउने प्रतिनिधिहरूको भनाइ छ।
विशेष महाधिवेशन सकिँदा पार्टी विधान, नीति र सिद्धान्तमा युवा अवस्थामा फर्किने उनीहरूको विश्वास छ।
जेनजी प्रतिनिधि करुणा कटुवाल विशेष महाधिवेशनबाट शुद्धीकरण सहितको नेपाली कांग्रेस चाहन्छिन्।
भन्छिन्, ‘हाम्रो जेनजी पुस्ताले पनि कांग्रेसमा जोडिएर भोलिका दिनमा यसमा केही गर्न सक्छौँ भन्ने विश्वास सहितको विधान संशोधन गरेर देशलाई र नेपाली कांग्रेसलाई निकास देओस् भन्ने चाहान्छु।’
पाका प्रतिनिधि गोपीप्रसाद पराजुलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र युवा पुस्तालाई जिम्मेवारी सुम्पनुपर्ने आवश्यकतामा जोड दिए।
पराजुलीले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको आगमनले पार्टीमा नयाँ ऊर्जा थप्ने बताए। उनी आफू वृद्ध भए तापनि पार्टीलाई युवा नेतृत्वको आवश्यकता औँल्याए। अब पार्टीको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्मा आउनुपर्ने उनको भनाइ छ।
‘युवा पुस्ताले हाम्रो पार्टीलाई हाँकोस् भन्ने चाहन्छु’ गोपीले नेपालखबरसँग भने, ‘म बुढो भए पनि मैले युवा पुस्तालाई रोजिरहेको छु।’
Shares

प्रतिक्रिया