नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
कांग्रेसको संस्थापन पक्षको विरोधका बाबजुध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन।
संस्थापन इतरपक्षले विशेष महाधिवेशनमा कांग्रेसको संस्थापन पक्षका नेताहरुलाई भने आमन्त्रण गरेका छन्। तर, महामन्त्रीद्वयको अगुवाइमा हुन लागेको यो कार्यक्रमप्रति कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता भने अत्यन्तै असहिष्णु देखिएका छन्।
विशेष महाधिवेशनका लागि गठित अतिथि सत्कार तथा स्वागत समितिका संयोजक रामपल्टन शाह शनिबार साँझ निम्तोपत्र लिएर सभापति देउवा निवास महाराजगन्ज जाँदा उनलाई देउवा पक्षले दुर्व्यवहार गरेका छन्।
देउवालाई भेटेर विशेष महाधिवेशनको प्रमुख अतिथि भइदिन अनुरोधसहितको निमन्त्रणा पत्र लिएर शाह देउवा निवास महाराजगन्जमा पुग्दा उनलाई देउवाका सहयोगीले दुर्व्यवहार गरेर घरबाहिर निकालेका हुन्।
सभापतिलाई भेट्न भनेर आधा घण्टा कुराएपछि देउवाका स्वकीय सचिव भानु देउवाले निमन्त्रणा पत्र च्यातेर फालेको शाहले बताए।
‘भानुजीले यस्तो चिठी लिएर आउने, तपाईंलाई लाज लाग्दैन भनेर निम्तोपत्र कच्याककुचुक पारेर मलाई दुर्व्यवहार गर्नुभयो। उहाँले हातै समातेर बाहिर जानुस् जानुस् भन्नुभयो। सुरक्षाकर्मीले पनि तपाईंलाई अब नो इन्ट्री भन्दै बाहिर निकाले ,’ शाहले भने।
आफूले उमाकान्त चौधरीलाई देउवाको निमन्त्रणपत्र दिएर फर्किएको शाहको भनाई छ।
तर, देउवा निवासमै रहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शशांक कोइरालालेले शाहले दिएको निमन्त्रणपत्र बुझेर धन्यवाद दिएका छन्।
Shares

प्रतिक्रिया