राजनीति


ओलीको कार्यकर्तालाई निर्देशन- निर्वाचन जतिबेला पनि हुन सक्छ, तयारी अवस्थामा रहनुस्

ओलीको कार्यकर्तालाई निर्देशन- निर्वाचन जतिबेला पनि हुन सक्छ, तयारी अवस्थामा रहनुस्

नेपालखबर
पुस २६, २०८२ शनिबार १४:४०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता-कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचनको वातावरण पूर्ण रूपमा नबने पनि मुलुक ढिलो-चाँडो निर्वाचनमा जानैपर्ने बताए।

‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन,’ ओलीले भने, ‘राजनीतिक दलका नेतामाथि लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास कायमै छन्। तर ढिलो-चाँडो देश निर्वाचनमा जानैपर्छ, त्यसका लागि पार्टी सधैं तयार छ।’

ओलीले विभिन्न बहानामा निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाउँदै एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए। ‘चरण-चरणमा निर्वाचन गर्ने खेल स्वीकार्य छैन। जे गर्ने हो, न्यूनतम राजनीतिक सहमतिका आधारमा गर्नुपर्छ,’ उनले भने।

फागुन २१ गते नै निर्वाचन हुन सक्ने संकेत गर्दै ओलीले कार्यकर्तालाई सजग रहन आग्रह गरे। ‘निर्वाचन जतिबेला पनि हुन सक्छ। फागुन २१ मै पनि हुन सक्छ। त्यसैले सबै साथीहरू तयारी अवस्थामा रहनुपर्छ,’ उनको भनाइ थियो।

उनले समानुपातिकतर्फ पार्टीले सर्वसम्मत रूपमा बन्दसूची सिफारिस गरिसकेको जानकारी दिँदै प्रत्यक्षतर्फ नाम सिफारिस गर्दा देखिएका विवाद पार्टी निर्देशनअनुसार समाधान गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad