देवी देवताका मूर्ति, कलाकृति तथा पुरातात्विक वस्तुको तस्करी रोक्न नेपाल र अमेरिकाबीच सम्झौता भएको छ। नेपाली देवी देवताका मूर्ति तथा ऐतिहासिक कलाकृति तस्करी भएर अमेरिका पुगेका घटना बाक्लै सार्वजनिक हुन थालेको सन्दर्भमा दुई देशबीच यो सम्झौता भएको हो।
सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा.सुरेश सुरस श्रेष्ठ र अमेरिकी राजदूत डीन आर. थम्पसनले बिहीबार हस्ताक्षर गरेका छन्।
सम्झौतामा भएका व्यवस्थाले नेपाललाई हुनेछन् यी पाँच फाइदा:
१. चोरिएका मूर्ति अमेरिका पुगे भन्सारमै समातिने
सम्झौतापछि नेपालसँगको सहकार्यमा अमेरिकाले प्रतिबन्धित गर्नुपर्ने धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक बस्तुको सूची तयार पार्नेछ। अमेरिकी सरकारले जारी गर्ने त्यस्तो सूचीमा पाण्डुलिपिसहित करिब ३२,००० इसापूर्वदेखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री र १३ औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीहरू रहनेछन्। नेपाल सरकारको आधिकारिक 'निर्यात प्रमाणपत्र' बिना मूर्ति तथा बहुमूल्य पुरात्विक सामान अमेरिका लैजान पाइने छैन। 
२. चोरिएका मूर्ति नेपाल ल्याउन हुनेछ सहज
३. अमेरिकी प्रहरीलाई नेपाली विज्ञले 'भगवान' चिन्न सिकाउने
यो सम्झौताले अमेरिकी संस्था, विश्वविद्यालय र अन्वेषकहरूसँगको सहकार्यलाई सहजीकरण गर्नेछ। जसले नेपालको सांस्कृतिक इतिहासको अध्ययन गरी त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनेछ। अमेरिकी विश्वविद्यालय, अनुसन्धानकर्ता तथा संस्थाहरूसँग सहकार्य गरी वैज्ञानिक रूपमा नेपालको सांस्कृतिक इतिहासको अध्ययन गर्न सहज बनाउनेछ। सम्झौताले कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायलाई नेपाली विशेषज्ञले तालिम दिन बाटो खुला गरेको छ। हाम्रा देवी, देवताबारे र तिनका आकृति तथा विशेषता अमेरिकी पक्षलाई विस्तृतमा बुझाइनेछ। 'यी नेपालीका भगवान् मूर्ति, कलाकृति हुन्' भन्ने थाहा पाएपछि अमेरिकी प्रहरीले 'एक्सन' लिनेछ।

४. विज्ञता र प्रविधिको आदानप्रदान
सम्झौताले सांस्कृतिक संरक्षणका लागि आवश्यक आधुनिक प्रविधि र विज्ञतामा नेपालको पहुँच बढाउनेछ। लुम्बिनीमा हालै स्थापित आधुनिक संरक्षण प्रयोगशालाजस्तै अन्य परियोजनामार्फत् नेपाली प्राविधिकको क्षमता विकास गर्न बाटो खुला गरेको छ।
५. अमेरिकी संग्रालय र अक्सन हाउसलाई निगरानी
नेपालबाट चोरिएका देवी, देवताका मूर्ति तथा कलाकृति अमेरिकाका संग्रालय, अक्सन हाउस तथा निजी संग्रहमा जाने हुन्। नेपालबाट तस्करी भएर पुग्ने ठाउँ र क्षेत्र लक्ष्यित गरी ती ठाउँहरूमा अमेरिकी सरकारले सुसूचित गर्ने कार्यक्रम सञ्चालन गर्नेछ। नेपाली मूर्ति, कलासंस्कृतिका वस्तु राख्नु गैरकानुनी हो कुरा अमेरिकी जनतालाई सुसूचित गर्नेछ।

लामो कसरतपछि सम्झौता
सम्झौतामा हस्ताक्षर गर्नुभन्दा अगाडि राजदूत थम्पसनले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकाको गहिरो सम्मान रहेको बताए। ‘सम्झौताले कानुनसम्मत सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्नेछ’, उनले भने, ‘नेपालका सांस्कृतिक सम्पदा भावी पुस्ताको निम्ति जगेर्ना गर्ने हाम्रो साझा जिम्मेवारीमा थप बल पुर्याउनेछ। 'अमेरिकाको विदेश मन्त्रालय अन्तर्गत रहेको सांस्कृतिक सम्पदा केन्द्रले सांस्कृतिक सम्पत्ति सम्झौता र तिनको कार्यान्वयन गर्छ। नेपाल र अमेरिकाबीच बिहीबार यही सम्झौता भएको हो।
२०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरस्थित ऐतिहासिक गद्धी बैठकको पुन:निर्माण तथा लुम्बिनीमा हालै स्थापना गरिएको आधुनिक संरक्षण प्रयोगशाला राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतको सहयोगमा निर्माण गरिएका हुन्। राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत दुई दशकयता अमेरिकाले २८ ओटा परियोजनाका लागि ४५ लाख अमेरिकी डलरभन्दा बढी सहयोग गरेको छ।
Shares

प्रतिक्रिया