राजनीति


नेपाल प्रहरीले आफ्नो कोटाको मात्रै निर्वाचन प्रहरीको भर्ना खोलेपछि सशस्त्र पुग्यो गृह

नेपाल प्रहरीले आफ्नो कोटाको मात्रै निर्वाचन प्रहरीको भर्ना खोलेपछि सशस्त्र पुग्यो गृह

नेपालखबर
पुस २४, २०८२ बिहिबार १५:१३, काठमाडौँ

गृह मन्त्रालयले निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (यसअघि भनिएका म्यादी) भर्ना गर्न दुई प्रहरीलाई स्वीकृति दियो। स्वीकृत मापदण्ड अनुसार भर्ना तथा छनोट प्रक्रिया भने संयुक्त रुपमा गर्ने भनिएको थियो। 

तर नेपाल प्रहरीले बिहीबार आफ्नो कोटाको एक लाख ३३ हजार ९८० जनाका लागि मात्रै आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ। त्यसपछि सशस्त्र प्रहरी अन्योलमा परेको छ। सशस्त्र प्रहरीले अब आफ्नो कोटाको १५ हजार ११० जना भर्नाको प्रक्रिया कसरी सुरु गर्ने भनेर गृह मन्त्रालयसँग छलफल थालेको छ। 

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर गृह मन्त्रालयसँग राय माग्न सिंहदरबार पुगेका छन्। ‘एआईजीसाब गृह मन्त्रालय जानु भएको छ। अब गृह मन्त्रालयले जसरी छनोट प्रक्रिया अगाडी बढाउन निर्देशन दिन्छ, त्यही अनुसार हुन्छ’, सशस्त्र प्रहरीका अर्का उच्च अधिकारीले भने, ‘संयुक्त रुपमा छनोट प्रक्रिया हुने भनेपछि हामीले छुट्टै सूचना निकालेका थिएनौँ। तर नेपाल प्रहरीले आफ्नो कोटाको मात्रै माग गरेपछि हामीले हाम्रो कोटाको निर्वाचन प्रहरी कसरी छनोट गर्ने भनेर निर्णय हुन्छ।’

गृह मन्त्रालयको अनुमति लिएर सशस्त्र प्रहरीले पनि छिट्टै भर्ना प्रक्रिया अगाडी बढाउने भएको छ। 

नेपाल प्रहरीले बिहीबार सूचना प्रकाशित गर्दै शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिने समय तोकेको छ। नेपाल प्रहरीले माग गरेको निर्वाचन प्रहरीका लागि देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ।

संयुक्त रुपमा छनोट गर्ने र नियुक्ती दिने वेलामा मात्रै दुवै प्रहरीतर्फ विभाजन गर्ने मापदण्ड बनाइएको थियो। सोही अनुसार छनोट गर्नका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखहरू समेटिएको समिति बनाउने निर्णय भएको थियो। तर नेपाल प्रहरीले आफ्नो मात्रै कोटाको विज्ञापन जारी गरेको छ।

पहिलो पटक सशस्त्र प्रहरीले निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। स्ट्राइकिङमा १८ जनाको टोली खटाउने गरेकोमा ६ जना निर्वाचन प्रहरी टोलीमा थप हुने भएको छ।

यसअघि मोबाइल गस्तीमा ७ जना सशस्त्र प्रहरी रहने गरेकोमा यसपटक १२ जनाका दरले खटाइने भएको छ। ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी हुनेछन्।

सम्बन्धित समाचार : १ लाख ३३ हजार ९८० ‘निर्वाचन प्रहरी’का लागि भर्ना खुल्यो (सूचनासहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad