निकोलस मदुरोलाई कब्जामा लिएको पाँच दिनपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अबदेखि ‘भेनेजुएला अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध’ बनेको दाबी गरेका छन्।
ट्रम्पले बिहीबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अब हुने नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा उत्पादित सामान मात्र किन्न सहमत भएको दाबी गरेका हुन्।
‘मैले पाएको जानकारीअनुसार भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमले अमेरिकामा उत्पादित सामान मात्र खरिद गर्नेछ’, उनले लेखेका छन्, ‘खरिद गर्ने सामानमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्र सुधार गर्न अमेरिकी कृषि उत्पादन, औषधि, चिकित्सा उपकरण र मेसिनरी हुनेछन्।’
ट्रम्पले अगाडि लेखेका छन्, ‘अर्को शब्दमा- भेनेजुएला अब अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध छ। यो एक बुद्धिमानी निर्णय हो र भेनेजुएला र अमेरिका दुवै देशका जनताका लागि धेरै राम्रो कुरा हो।’
गत शनिबार (जनवरी ३ तारिख) मात्र अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो।
अहिले उनीहरू न्युयोर्कस्थित हिरासतमा छन् भने दुवैविरुद्ध त्यहाँको अदालतमा लागुऔषध र हतियार तस्करी अभियोगमा मुद्दा चलाइएको छ। यस क्रममा उनीहरूलाई गत सोमबार अदालतमा उपस्थित गराइएको थियो।
त्यस दिन भएको पहिलो सुनुवाइमा मदुरोले आफूले कुनै अपराध नगरेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।
त्यसरी एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको हमलाले विश्व राजनीतिमै तरंग ल्याएको छ। यसविरुद्ध विश्वका विभिन्न मुलुकले टिप्पणी गरिरहेका छन्।
मदुरो अमेरिकाको नियन्त्रणमा पर्नासाथ भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन्।
Shares

प्रतिक्रिया