गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभाको चुनावपछि कानुन व्यवसायमै फर्किने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो जिम्मेवारी पूरा गरेर पुरानै पेशामा फर्किने बताएका हुन्। मानव अधिकारकर्मी र कानुन व्यवसायी सहभागी रहेको अन्तरक्रियामा बोल्दै अर्यालले भने, ‘म त यहीँ फिल्डबाट गएको मान्छे हुँ। यहीँ नै आउने भन्या छु। म हजुरहरूकै बीचमा छु।’
यसअघि आफू मानव अधिकारकै लागि लडेको र अहिले पनि मानव अधिकारकै लागि काम गरिरहेको उनको भनाइ थियो। ‘पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु,’ अर्यालले भने, ‘सडकमै आउने हो। म नागरिकै भएर पेशामै फर्किने हो।’
गृहमन्त्रीको रुपमा आफूले दण्डहिनतालाई प्रसय नदिने बताए। न्यायकै पक्षमा उभिने उनको भनाइ थियो। ‘म कानुन व्यवसायी हुँ। कानुन व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो,’ अर्यालले भने, ‘म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न।’
अहिले सरकारको ध्यान चुनावमै केन्द्रितको उनले बताए। त्यसका लागि आफूले सक्दो प्रयास गरिरहेको उनको भनाइ थियो। आफू कुनै पक्ष र विपक्षमा नलागेको उनले उल्लेख गरे। अन्तरिक्रयामा सहभागी कानुन व्यवसायी र अधिकारकर्मीलाई सहयोगको आग्रह गर्दै गृहमन्त्री अर्यालले भने, ‘अब धेरै पनि छैन, दुई महिना हो। दुई महिनापछि हामीहरू सँगै हुनेछौँ।’
यो पनि पढ्नुहोस् : लुटिएका हतियार र भागेका कैदीबाट चुनावै रोकिने चुनौती छैन : गृहमन्त्री अर्याल
Shares

प्रतिक्रिया