राजनीति


लुटिएका हतियार र भागेका कैदीबाट चुनावै रोकिने चुनौती छैन : गृहमन्त्री अर्याल

लुटिएका हतियार र भागेका कैदीबाट चुनावै रोकिने चुनौती छैन : गृहमन्त्री अर्याल

नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:५५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबाट चुनावै विथोल्ने गरीको चुनौती नभएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन्। 

बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै गृहमन्त्री अर्यालले अब चुनाव नरोकिने बताए। ‘निर्वाचन अब केही गरे पनि रोकिनेवाला छैन। निर्वाचन भाड्ले चाहीँ हुँदैन भन्छन्,’ उनले भने, ‘कतिपय दललाई जितिँदैन भन्ने लाग्ला, त्यस्ताले चुनाव हुँदैन भनेका छन्। त्यस्ता विगतमा पनि हुन्थे।’

सुरक्षा चुनौतीका विषयमा छलफल गर्न देशका पाँच प्रदेशमा पुगेको र दुई प्रदेशमा पुग्न बाँकी रहेको उनले बताए। त्यसकामा प्रदेशमा मुख्यमन्त्री र सुरक्षा निकायसँग छलफल गर्दा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबाट चुनाव रोक्ने गरीको चुनौती नपाएको उनको भनाइ थियो। 

प्रदेशमा भएका छलफलमा कैदी र हतियारको विषय उठेको बताउँदै गृहमन्त्री अर्यालले भने, ‘यो चाहीँ गृह मन्त्रालयले अधिक प्रयास गर्दागर्दै पनि केही बाहिर छन्। त्यही कारणले चुनावै रोकिन्छ भन्ने तहको होइन।’

लुटिएका जति सबै हतियार राम्रो नभएको उनको भनाइ थियो। संख्या बताउन नमिल्ने जनाउँदै गृहमन्त्री अर्यालले भने, ‘लुटिएका हतियारको संख्या थोरै छ। त्यसमा पनि कतिपय टियर ग्यासवालासँग सम्बन्धित छन्, कतिपय चाहीँ काम नलाग्ने भएर थन्किएका हतियार छन्। 

कतिपय आगजनीमा परेका छन्, कतिपय भाँचिएका छन्। कोही लामो, कोही छोटो विभिन्न प्रकृतिका हतियार छन्। प्रयोगै हुने हतियार थोरै छन्।’

सरकार सबै दललाई सहभागी गराएरै चुनाव जाने उनले बताए। ‘दललाई पर धकेल्दैनौँ। जेनजीको सरकार हो, जेनजी निकटको सरकार हो। जेनजीलाई मूलधारमा ल्याएर छोड्छौँ,’ अर्यालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad