सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन्।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए।
आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे।
उनले भने, ‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन। दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन। वार्ता वा छलफल गरेको छैन। आउँछु पनि भनेको छैन। जान्छु भनेको छैन। मैले केही पनि भनेको छैन।’
उनले थपे, ‘समाचार अलिकति फरक ढंगले आइरहेको छ। त्यसप्रति मेरो आपत्ति केही पनि छैन। तर सही समाचार चाहिँ आज म तपाईंहरुमार्फत भन्छु–मैले चुनावमा उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन।’
मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचारमात्रै सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरूलाई आग्रह गरे।
Shares

प्रतिक्रिया