राजनीति


चुनावपछि राष्ट्रिय सभामा कांग्रेस पहिलो हुने, गठबन्धन दुईतिहाइ नजिक

चुनावपछि राष्ट्रिय सभामा कांग्रेस पहिलो हुने, गठबन्धन दुईतिहाइ नजिक

नेपालखबर
पुस २३, २०८२ बुधबार १४:३१, काठमाडौँ

आगामी फागुन २१ गतेपछि राष्ट्रिय सभामा प्रतिनिधित्व भएका दलहरूको हैसियत फेरिने भएको छ। माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको तालमेलबाट आउने परिणामले दलीय हैसियत फेरिने भएको हो। 

५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६, एमालेका (राष्ट्रपतिबाट मनोनितसहित) ११, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का (राष्ट्रपतिबाट मनोनितसहित) २७, जसपा नेपालका ४ र राष्ट्रिय जनमोर्चका १ जना सांसद छन्।

जसमध्ये आगामी फागुन २१ मा एमालेका ८, राष्ट्रपतिबाट मनोनित वामदेम गौतमसहित नेकपाका ९ र जसपाका २ जना राष्ट्रिय सभाका सदस्यको कार्यकाल सकिनेछ। २०७६ सालमा भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल सकिन लागेको हो। यसमा कांग्रेसका भने कोही छैनन्। एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्। 

जित निश्चित हुने गरी कांग्रेसले ९, एमाले ८ र जसपाले १ गरी १८ सिटमा तालमेल गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ। 

एक्लाएक्लै चुनाव लड्दा कोसीमा एमाले र बाँकी ६ प्रदेशमा कांग्रेसको मतभार धेरै छ। सबै प्रदेशमा पहिलो र दोस्रो मतभार भएका कांग्रेस, एमाले र मधेस प्रदेशमा तेस्रो मतभार भएको जसपाबीच चुनावी तालमेल भएकाले १८ जना उम्मेदवार निर्वाचित हुने निश्चित जस्तै छ। 

राष्ट्रिय सभामा कोसी र लुम्बिनी प्रदेशबाट ३-३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २-२ जनाका लागि निर्वाचन हुँदै छ। 

फागुन २१ गतेपछि राष्ट्रिय सभामा कांग्रेसका २५, एमालेका ११, नेकपाका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चका १ जना सांसद हुनेछन्। त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन्। 

निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेस-एमाले गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिन्छ। ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका २५ र एमालेका ११ जना गरी ३६ सांसद हुनेछन्।

२०८१ असार १७ मा कांग्रेस र एमालेबीच सरकार निर्माणका लागि बनेको गठबन्धन राष्ट्रिय सभामा अल्पमतमा थियो। तत्कालीन कांग्रेस र एमाले गठबन्धनसँग राष्ट्रिय सभामा बहुमत नहुँदा सरकारले अगाडि बढाएका विधेयक पारित गराउन सकस हुने गरेको थियो। 

कांग्रेस, एमाले र जसपा गठबन्धन राष्ट्रिय सभामा दुईतिहाइ नजिक पुगेको छ। कांग्रेस, एमाले र जसपासँग फागुन २१ गतेपछि ३९ जना सांसद हुने देखिन्छ। दुईतिहाइका लागि ४० सांसद आवश्यक पर्छ। 

नेकपाबाहेक दुईतिहाइ पुर्‍याउन कांग्रेस, एमाले र जसपा गठबन्धनललाई जनमोर्चा वा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको साथ चाहिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad