नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आफू निकट शीर्षनेतालाई बोलाएका छन्।
आइतबार दिउँसो २ बजेका आफ्नो निवास महाराजगञ्जमा सभापति देउवाले शीर्ष नेतालाई बोलाएको एक पदाधिकारीले नेपालखबरलाई बताए। महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन गर्ने तयारीमा जुटेपछि सभापति देउवा आन्तरिक परामर्श गर्न लागेको बुझिएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, महामन्त्रीद्वय थापा र शर्माले पुसभित्रै विशेष महाधिवेशन बोलाउने अडान राखेका छन्।
महामन्त्रीद्वय थापा र शर्माले शनिबार कानूनविद्सँग पनि छलफल गरेका थिए। कानूनविद्ले विशेष महाधिवेशन बोलाउन सकिने राय दिएका थिए।
महामन्त्री थापाले विशेष महाधिवेशन अगाडि बढाउने गृहकार्य गरेपछि त्यसलाई रोक्न सभापति देउवा सक्रिय भएका हुन्। उनी निकट एक नेताका अनुसार महामन्त्रीद्वयले बोलाउने महाधिवेशनलाई भेलामा रुपान्तरण गराएर पार्टीलाई एकताबद्ध गराउने देउवाको तयारी छ।
Shares

प्रतिक्रिया