राजनीति


मन्त्री-प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर सिंहदरबार ताक्दै चार मेयर साब

मेयरबाट बिदा भएर चुनाव लड्ने तयारीमा बालेन, चिरिबाबु, रेनु र हर्क
मन्त्री-प्रधानमन्त्री बन्ने आकांक्षा बोकेर सिंहदरबार ताक्दै चार मेयर साब

सागर न्यौपाने
पुस १९, २०८२ शनिबार १९:४८, काठमाडौँ

स्थानीय तहमा कायापलट गर्ने दाबी गर्दै २०७९ वैशाखमा चुनाव जितेका कतिपय जनप्रतिनिधिले कार्यकाल पूरा नगरी सिंहदरबारतर्फ पाइला लम्काएका छन्। 

जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व गरेका उनीहरू अब राष्ट्रिय नीति निर्माणमा प्रत्यक्ष भूमिका खेल्ने योजनामा छन्। कतिपयको आकांक्षा त सोझै कार्यकारी प्रमुख बन्ने छ।

स्थानीय सरकारमा रहँदा निर्माण गरेको जनमतलाई उनीहरूले आफ्नो जितको मुख्य आधार मानेको देखिन्छ। त्यसैमध्येमा पर्छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)।

पुराना दललाई आश्चर्यचकित पार्दै स्वतन्त्र रूपमा स्थानीय राजनीतिमा उदाएका बालेनले जनतासँग खासै अन्तरक्रिया गरेनन्। तर, सामाजिक सञ्जालबाटै आफ्ना धारणा सार्वजनिक गरेर पनि युवापुस्ताको मन र मत जिते।

जेनजी आन्दोलनका कारण दुई वर्षअगाडि सरेको प्रतिनिधि सभाको चुनाव पनि जितेर प्रधानमन्त्री बन्ने योजना बनाएका छन् बालेनले। आफ्नो लोकप्रियता यो चुनावमार्फत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने उनको सपना छ।

सोही अनुसार आगामी फागुन २१ गते तय भएको चुनाव लड्ने निर्णयमा उनी पुगिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएर आफूलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै चुनावी मैदानमा जाने निर्णय गराइसकेका छन्। 

पुसको अन्तिमतिर काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर बालेन देशव्यापी चुनाव प्रचारमा जाने तयारीमा छन्। 

बालेनका स्वकीय सचिव भुपदेव शाहका अनुसार काठमाडौँ, झापा, महोत्तरीलगायत देशका विभिन्न क्षेत्रबाट उनलाई चुनाव लड्न प्रस्ताव आएको छ। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिन लागेकाले बालेन देशका जुनसुकै क्षेत्रबाट उठे पनि जित्ने उनको दाबी छ।

‘प्रधानमन्त्री बन्ने व्यक्ति काठमाडौँमा सीमित हुनु भएन, देशका जुनसुकै क्षेत्रमा उठेर जित्नुहुन्छ,’ भुपदेवले भने।

आफ्नै श्रमबाट धरानवासीलाई पानी खुवाउने एजेन्डा बोकेर स्थानीय चुनाव जितेका धरान उपमहानगरका मेयर हर्क साम्पाङको महत्त्वाकांक्षा पनि सिंहदरबार पुग्ने छ। सत्तालाई श्रमसँग जोड्नुपर्ने धारणा राख्ने हर्कले श्रम संस्कृति पार्टी स्थापना गरेका छन्। अहिले उनी देशव्यापी प्रचार अभियानमा छन्। 

हर्क कहाँबाट चुनाव लड्छन्, खुलाएका छैनन्। धरानेको मन जितेका उनी सुनसरीकै कुनै निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा छन्। उनले पनि मेयर पदबाट राजीनामा दिएका छैनन्। 

बालेन र हर्क मात्र होइन, स्थानीय तहको कार्यकाल छोडेर संघीय संसद ताक्ने अर्का जनप्रतिनिधि हुन् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन।

दुई पटक महानगरको मेयर जितिसकेका रेनु र चिरीबाबु कानुनअनुसार फेरि सोही पदमा उठ्न पाउँदैनन्। उनीहरूले स्थानीय तहमा राजनीतिलाई निरन्तरता दिन सम्भव छैन।

सोही कारण मेयर पदको बाँकी कार्यकाल छोडेर संघीय संसदको यात्रामा निस्किनु परेको रेनु बताउँछिन।

‘म चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छु, मेरो नाम सिफारिस पनि भएको छ,’ रेनुले नेपालखबरसँग भनिन्, ‘तयारी पनि थालिसकेको छु।’

स्थानीय सरकारमा रहँदा निर्माण गरेको जनमत लिएर चुनावमा जाने उनको भनाइ छ।

मेयरमा दुई कार्यकाल निर्वाचित हुँदा भरतपुरलाई नमुना बनाएको उनी बताउँछिन्।

‘फराकिलो सडक र सबैतिर बत्ती, शिक्षा र स्वास्थ्यमा पनि भरतपुरलाई अन्य महानगरभन्दा निकै माथि पुर्‍याएको जस्तो लाग्छ,’ उनले थपिन्, ‘यही विकास लिएर निर्वाचन क्षेत्रमा जान्छु।’ 

२०७९ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए। त्यसअघि २०७४ मा सो क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले प्रतिनिधि सभा लड्नेगरी निर्वाचन क्षेत्र छानिसकेका छन्। नेपाली कांग्रेसबाट मेयर जितेका उनी प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा छन्।

स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार ललितपुर क्षेत्र नम्बर ३ मा उठ्ने चिरिबाबुको चाहना छ। 

‘सभापतिले टिकट दिनुपर्‍यो, उहाँ मेयरबाट राजीनामा दिएर चुनाव लड्न पूरै तयार अवस्थामा हुनुहुन्छ,’ बज्राचार्यले भने, ‘उहाँको एरिया ललितपुर क्षेत्र नम्बर ३ हो। पार्टीले जहाँ भन्छ, त्यहीँ गएर लड्नुहुन्छ।’ 

महानगरमा गरेको विकास निर्माणका कारण आफूलाई पार्टीले टिकट दिने विश्वासमा उनी देखिन्छन्। यद्यपि कांग्रेसको क्षेत्रीय समितिले भने उनको सिफारिस गरेको छैन।

यी बाहेक आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि देशका थुप्रै स्थानीय तहका प्रमुखहरूले राजीनामा दिने योजना बनाएका छन्। यद्यपि, पार्टीले बनाउने मापदण्ड कुरेर उनीहरूले घोषणा गरिसकेका छैनन्।  

नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय नेता रहेकी रेनु निर्णयको पर्खाइमा छिन्। आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ।

टिकट पाउने निश्चित भएपछि मात्र पदबाट राजीनामा दिने उनीहरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad