ad ad

कारोबार


प्रधानमन्त्रीलाई झुक्याएका चिनी उद्योगी संसदलाई झुक्याउने तयारीमा (पत्र सहित)

प्रधानमन्त्रीलाई झुक्याएका चिनी उद्योगी संसदलाई झुक्याउने तयारीमा (पत्र सहित)

दीपक भट्ट
बैशाख २२, २०७७ सोमबार १५:२४,

नेपालमा खपत हुने चिनी मध्ये करिब आधा विदेशबाट आयात हुन्छ। अर्थात, नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुने गरेकोमा १ लाख ५० हजार मेट्रिक टन मात्रै स्वदेशमा उत्पादन हुने गरेको छ।

तर उद्योगीहरुले स्वदेशमा उत्पादित चिनीको मूल्य बढाउन विभिन्न चलखेल गर्दै आएका छन्। गत वर्ष मूल्य बढाउन उद्योगीहरुले चिनी आयतमा नै बन्देज लगाउने प्रयास गरे। उनीहरुको प्रयास अनुसार मन्त्रिपरिषद्को बैठकले गत वर्ष भदौमा आयातमा परिमाणात्मक बन्देज लगायो। आयत बन्द भएपछि चिनी उद्योगीहरुले मूल्य बढाए।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुले आफूलाई झुक्याएर बन्देज गर्न लगाएको उद्योगीहरुकै कार्यक्रममा बताएका थिए। प्रधानमन्त्री ओलीले नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभामा निजी क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने भन्दै चिनी उद्योगीको आग्रहलाई स्वीकार गर्दा धोका पाएको बताएका थिए।

पाकिस्तानबाट अत्याधिक सस्तो चिनी आएर स्वदेशी चिनी बिक्री नभएको उद्योगीहरुले गुनासो गरेपछि सरकारले चिनी आयात रोकेको थियो। बाहिरबाट चिनी आउन बन्द गराएका ब्यापारीले त्यसपछि भने मूल्य बढाएका थिए।

यो वर्ष पनि चिनी उद्योगीहरु मूल्य बढाउने चलखेलमा लागिसकेका छन्। चिनी उद्योगीसँग प्रधानमन्त्री विच्किएपछि उद्योगीहरु संसदीय समितिबाट चलखेलको प्रयास गरिरहेका छन्। संसदीय समितिबाट सरकारलाई निर्देशन गराएर चिनी आयातमा पुनः बन्देज गराउने तयारीमा चिनी उद्योगीहरु लागेका हुन्।

उद्योगीहरुले परिमाणात्मक बन्देज गराउनको लागि संसदकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका छन्। चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले हस्ताक्षर गरेको उक्त उजुरी यहि चैत ५ गते समितिमा दर्ता भएको छ। दर्ता लगत्तै लकडाउन सुरु भएकोले उक्त उजुरीमा छलफल भने भएको छैन। संसदको बजेट अधिबेशनको मिति तय भएपछि संसदीय समितिको बैठक सुरु हुन थालेका छन्। आगामी हप्तादेखि उक्त उजुरीमा छलफलको तयारी समेत समितिले गरेको छ।

के छ समितिमा परेको उजुरीमा?
भारत सरकारले चिनी निर्यात गर्दा ११ रुपैयाँ भारु प्रतिकेजी सहुलियत दिइरहेकोले नेपालमा उक्त चिनी आइपुग्दा धेरै सस्तो हुने तथा स्वदेशी उत्पादनले प्रतिपर्धा गर्न नसक्ने उजुरीमा उल्लेख छ। भारतीय चिनीको तुलनामा स्वदेशी चिनी महँगो हुने भएकोले आयात बन्द गर्नुपर्ने माग पत्रमा छ। नेपाली चिनी बिक्री नभएपछि उद्योगीले उखु किसानको भुक्तानी समेत दिन नसकिने उजुरीमा उल्लेख गरिएको छ। यस्तै, बाहिरबाट चिनी ल्याउन बन्द गरिए अबैध रुपमा आयत हुने काम समेत नियन्त्रणमा आउने उल्लेख छ।

chini.jpg

चिनी उद्योगी किन चलखेल गर्छन?
चिनी उत्पादन हुने समय मंसिरदेखि माघ सम्म हो। उक्त सयममा भएको चिनी वर्ष भरि आपूर्ति भैराख्छ। तर नेपालमा बढी खपत हुने समय भनेको चाहिँ असोज, कात्तिक अर्थात दशैं तिहारको समयमा हो। त्यो समयमा चिनी अभाव देखाएर मूल्य वृद्धि गर्ने हरेक वर्ष उद्योगीहरुको चलखेल हुन्छ। यो समयदेखि उनीहरुले चिनी आयात बन्द गर्ने प्रयास गर्दछन्।

यो वर्ष पनि समितिदेखि मन्त्रालयसम्म चलखेल गरिररहेको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्राालयका एक अघिकारीले बताए। मन्त्रालयको पनि आपूर्ति महाखाशामा उनीहरुले बन्देज गरिनुपर्ने मौखिक माग राख्दै धाइरहेका उनले जानकारी दिए।

आफैँ आयात गर्ने तयारीमा सरकार
सरकारले उद्योगीहरुको कुरालाई बेवास्ता गर्दै चिनी आयात सरकारी तवरबाटै गर्ने तयारी गरेको छ। साल्ट ट्रेडिङबाट भन्सार सहुलियतमा चिनी आयत गरेर बजार मूल्य सन्तुलन गर्ने विषयमा मन्त्रालय छलफलमा रहेको ती अधिकारीले जानकारी दिए। आयातको जिम्मेवारी खाद्य व्यवस्था तथा आपूर्ति व्यवस्थापन कम्पनीलाई दिने वा साल्ट ट्रेडिङलाई दिने बारे छलफल भैरहेको र विगतमा साल्ट टे«डिङले राम्रो व्यवस्थापन गरेकोले उसलाई नै दिँदा राम्रो हुने तर्क छलफमा भैरहेको समेत उनले जानकारी दिए।

भन्सार सहुलियतमा आयात गर्न अर्थमन्त्रालय मार्फत निर्णय गर्नुपर्ने भएकोले उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थलाई सिफारिस गर्नुपर्ने हुन्छ। सरकारी तवरबाट यो वर्ष ५० हजार मेट्रिक टन आयात गर्ने विषयमा छलफल भैरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .