आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ।
निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी समानुपातिक तर्फको चुनाव चिह्नबारे जानकारी दिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। त्यसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन्।
यसअघिका चुनावमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाई हुँदै आएको थियो। जसले गर्दा सबै दलका चुनाव चिह्न राखिने गरेको थियो।
यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।
उनका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ रहने लगभग निश्चित भएको छ। यद्यपि आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा यो संख्या घट्नसक्ने उनले बताए।
बन्दसूचीमा समानुपातिक कलस्टर नमिलेको अवस्था र बन्दसूचीमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको वेलामा मात्रै बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न सकिने उनले बताए। अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उनको भनाइ छ।
अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने प्रवक्ता भट्टराईले जानकारी दिए। उनले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी दिए।
Shares

प्रतिक्रिया