नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ।
शुक्रबार अपराह्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको हो। महाधिवेशनलाई लिएर चर्किरहेको विवादबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए। उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ।
यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो। बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए।
संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन्। बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
Shares

प्रतिक्रिया