नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २८ भित्रै यो गराउन दबाब बढाइरहेका छन्।
शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उनीहरूले पार्टीको विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गरिनुपर्ने माग गरेका हुन्।
नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले यसअघि नै हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको जिकिर उनीहरूले गरेका छन्।
विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताए।
नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक विकल्प नभएको तर्क उनले गरे।
‘हामीले नियमित महाधिवेशनको कार्यतालिका सार्वजानिक हुँदै भनेका थियौँ, तोकिएको समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवीत रहनेछ र सोको कार्यन्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य हुनेछ। अब स्पष्ट छ, नेपाली कांग्रेससंग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प रहेन’, पत्रकार सम्मेलनमा उनले भने, ‘विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन र यो रहँदा पनि रहँदैन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी अवस्था नमान्ने हो भने संविधान, विधिको वकालत गर्दे नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ नेपाली कांग्रेसँग? पार्टी विधानभन्दा माथि कोही हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्युनतम् जिम्मेवारी हो। विधानले तोकेको समयसिमामा ३ महिना अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य सम्पन्न गर्नुपर्ने हुँदा सीमाभित्र रही हामी विशेष महाधिवेशनको मागअनुसार पुस २७ र २८ मा विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन गर्न जोडदार माग गर्दछौँ।’
विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरको दाबी छ। उनीहरूले पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नरहेको पनि बताएका छन्।
Shares

प्रतिक्रिया