रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका सुदन गुरुङले रास्वपाको समानुपातिक सूचीबारे आफूले केही बोल्न नमिल्ने बताएका छन्।
‘म उहाँहरूको दलमा छैन र मैले सामानुपातिक सूचीको कुरामा कुनै हस्तक्षेप गरेको पनि छैन। उहाँहरूले आफ्नो स्वविवेकले जे गर्नु हुन्छ, जनताले बुझिहाल्नु हुन्छ नि। राम्रो गर्यो भने राम्रै कुरा हुन्छ, नराम्रो गरे नराम्रै कुरा हुन्छ,’ सुदनले भने।
उनले आफू सो दलको सदस्य नभएको हुनाले अर्काको पार्टीको आन्तरिक मामिलामा बोल्न नमिल्ने तर्क गरे।
उनी भन्छन्, ‘उनीहरूको हरेक कुराको जिम्मा लिन पनि सकिँदैन। रास्वपा उहाँहरूकै पार्टी हो। त्यसमा अब मैले यो गर्नु, त्यो गर्नु भनेर आदेश दिन पनि मिलेन नि त।’
बालेन, रवि र कुलमान तीनै जना मिल्दा आफू निकै खुसी भएको उनको भनाइ छ।
समानुपातिक सूचीमा सेलेब्रिटी र पहुँचवालाहरूलाई राखेपछि रास्वपाले आलोचना बेहोरिरहेको छ। सभापति रवि लामिछानेले सूची सच्याउने वचन दिएका छन्।
काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ पुराना दल र रास्वपामा कत्ति पनि फरक नदेखिएको बताउँछन्।
‘रास्वपाले नयाँ हो भन्ने कुरालाई प्रमाणित गर्न असफल भएको यो पहिलो दृश्य हो,’ उनले भने, ‘वैकल्पिक शक्ति भन्ने तर रास्वपा स्थायी वैकल्पिक शक्ति चाहिँ हो कि होइन भन्ने कुरामा आम मतदाताले शंका गर्ने वातावरण बन्यो। विश्वास गरिहाल्नमा समस्या देखिने भयो।’
बरु पुराना दलले केही हदसम्म सुधारको संकेत देखाएको उनको भनाइ छ।
‘जसलाई हामीले वैकल्पिक भन्यौँ, उसैले व्यवसायीको छोरा, आफ्नै भान्जा, ससुरा, उच्च ओहोदाका व्यक्तिलाई दलमा ल्यायो,’ उपार्जुन भन्छन्, ‘यो कुराले समावेशिताको मुद्दाप्रति नयाँ दल कति संवेदनशील छ भन्ने प्रश्न पनि निम्त्याउँछ। यो चिन्ताको विषय हो। हामीले रास्वपालाई वैकल्पिक शक्ति हो भनेर खुलेर फ्रेमिङ गर्न सक्ने वातावरण बनेन। रास्वपाले पनि खासै उत्साह थप्न सकेन।’
चुनावमा रास्वपालाई समर्थन गर्ने तयारीमा रहेका जेनजी अगुवाहरू समानुपातिक सूचीप्रति रुष्ट छन्। जेनजी अगुवा रक्षा बम, तनुजा पाण्डे, भावना राउत, माजिद अन्सारी लगायत धेरै जेनजीले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
कयौँ जिल्लाबाट एक जनाको प्रतिनियिधत्व नगरी चितवनबाट २१ जना सामेल गरिएको भन्दै उनीहरूले रोष व्यक्त गरेका छन्।
तनुजा पाण्डेले रास्वपाले समानुपातिक निर्वाचन प्रणालीको मर्म विपरीत यसको दुरुपयोग गरेको आरोप लगाएकी छन्।
‘निर्वाचन प्रणालीको मूल भावना र उद्देश्यलाई उल्लंघन गर्दै व्यक्तिगत वा पार्टीगत लाभका लागि अनैतिक रुपमा प्रतिनिधि सभामा आउनु अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
रक्षा बमले पनि रास्वपातर्फ इसारा गर्दै समानुपातिक सूचीबाट मन खिन्न भएको उल्लेख गरेकी छन्।
‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो। दुखद कुरा, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र, यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो,’ उनले भनेकी छन्।
Shares

प्रतिक्रिया