राजनीति


‘निलो क्रान्तिको उद्‌गम’ भन्दै चितवनलाई आधार इलाका बनाउँदै रास्वपा, स्वर्णिम र सोविता उतै सर्ने तयारी

‘निलो क्रान्तिको उद्‌गम’ भन्दै चितवनलाई आधार इलाका बनाउँदै रास्वपा, स्वर्णिम र सोविता उतै सर्ने तयारी

सागर न्यौपाने
पुस १७, २०८२ बिहिबार १०:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनले ठूलो गुन लगाएको छ। उनलाई सिंहदरबार पुर्‍याउने ढोका बनेको यो जिल्ला रास्वपालाई चौथो नयाँ शक्ति बनाएर नेपाली राजनीतिमा स्थापित गर्ने आधार भूमिसमेत बन्यो।

अहिले रास्वपाको लहर देशैभर फैलिन थाले पनि त्यसको जग चितवन नै भएको नेताहरू बताउँछन्। त्यही भएर रविले चितवनलाई ज्यादा प्राथमिकता दिएको देखिन्छ। उनी पार्टीका हरेक कार्यक्रमको सुरुवात चितवनबाटै गर्ने गरेका छन्।

महत्त्वपूर्ण निर्णय गर्नुपर्दा चितवनलाई केन्द्रमा राख्ने गरेको रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठ बताउँछन्। पार्टीको विस्तारित बैठक त्यही जिल्लामा राख्नुको रणनीतिक कारण रहेको उनले बताए। 

रवि स्वयंले पनि चितवनले आफूलाई गुन लगाएको बताउने गरेका छन्। 

टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ चलाएर चर्चामा आइरहेका बेला उनलाई एउटा आपत् आइलाग्यो। २०७६ साउनमा उनीसँगै काम गर्ने पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरे।

आत्महत्या गर्नुअघि उनले रविले तनाव दिएको, काम गराएर पैसा नदिएकोलगायत केही गम्भीर आरोप लगाउँदै भिडिओ सार्वजनिक गरेका थिए। सोही कारण पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा रविलाई प्रहरीले पक्राउ गरेर चितवन पुर्‍यायो।

त्यसले चितवनवासीलाई आक्रोशित बनायो। रवि पक्राउको विरोधमा सर्वसाधारण सडकमा उत्रिन थाले। उनीहरूले रविलाई फसाउन खोजिएको भन्दै हिरासत कक्षवरिपरि दिनदिनैजसो प्रदर्शन गरे। 

यहीबीच १४ दिनपछि रवि चितवन प्रहरीको हिरासतबाट मुक्त भए। जसको खुसियालीमा ठूलो संख्यामा समर्थक भेला भए र उनका पक्षमा नाराबाजी गरे।

हो, त्यही बेलादेखि चितवनवासीसँग रविको सम्बन्ध प्रगाढ बनेको रास्वपा नेता श्रेष्ठ बताउँछन्। 

‘आफू हिरासतमा परेको अप्ठ्यारो समयमा चितवनका जनताले देखाएको प्रेम र सद्‌भावले उहाँलाई सोही जिल्लाबाट राजनीति थाल्न प्रेरित गर्‍यो,’ उनले नेपालखबरसँग भने।

रिहाइलगत्तै रवि टेलिभिजन कार्यक्रममै फर्किए। यसबीच उनी प्रबन्ध निर्देशक भएर ग्यालेक्सी फोरके टेलिभिजन जोडिए। र, सिधा कुरा जनतासँग कार्यक्रमलाई सिधा कुरा नाम दिएर चलाउन थाले। 

तर, केही समयपछि उनी पत्रकारिताबाट राजनीतिमा होमिए र प्रतिनिधि सभाको चुनावमा भाग लिने गरी २०७९ असार ७ गते आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे। 

त्यसको पाँच महिनापछि भएको चुनावमा उनको दलले चितवन र काठमाडौँलाई मुख्य केन्द्रमा राखेर उम्मेदवारी दियो। 

चितवनमा पहिलो दल
२०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवनका तीन क्षेत्रमध्ये दुईवटामा रास्वपाले सानदार जित निकाल्यो। रवि पनि चितवनकै क्षेत्र नम्बर २ बाट विशाल मतका साथ विजयी भए। 

क्षेत्र नम्बर १ मा हरि ढकाललाई जिताएका रविले क्षेत्र नम्बर २ मा कांग्रेस र एमालेको उम्मेदवारले भन्दा ३४ हजार बढी मत ल्याएर इतिहास बनाए।  त्यसबेला ८३ हजार ९ सय ५६ मत खसेको क्षेत्र नम्बर २ मा रविले ४९ हजार २ सय ६४ मत पाए।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ६७ मतमा सीमित भए। 

चितवन क्षेत्र नम्बर ३ मा भने रास्वपा उम्मेदवार जिता बराल तेस्रो स्थानमा सीमित भइन्। जहाँ राप्रपाका विक्रम पाण्डे निर्वाचित हुँदा माओवादी केन्द्रका भोजराज अधिकारी निकटम प्रतिद्वन्द्वी बने। 

तर, समानुपातिक प्रणालीतर्फ रास्वपाले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सबै दललाई उछिन्यो र पहिलो पार्टी बन्यो।

क्षेत्र नम्बर १ मा ३४ हजार ६९१ मत ल्याउँदै पहिलो दल बनेको रास्वपाले क्षेत्र नम्बर २ मा पनि ३५ हजार ९४५ मत प्राप्त गरेर सबै दललाई उछिन्यो। 

यस्तै, क्षेत्र नम्बर ३ मा पनि २८ हजार ४ सय ०१ मत पाएर रास्वपा पहिलो दल नै बन्यो। तीनैवटै क्षेत्रबाट रास्वपाले समानुपातिकमा कुल ९९ हजार ०३७ मत पायो। यो एक सांसद बराबरको मत हो। 

जबकि, त्यहाँ एमालेले ५५ हजार ३ सय १२, कांग्रेसले ३९ हजार १ सय ३०, माओवादी केन्द्रले २९ हजार ४ सय ६१, राप्रपाले २५ हजार ५५ र नेकपा एकीकृत समाजवादीले ४ हजार ९ सय ०६ मत मात्र पाए।

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवनमा एमाले पहिलो दल बनेको थियो भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए। 

चितवनसहित केही मुख्य ठाउँमा उम्मेदवारी दिए पनि रास्वपा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी २० सांसदसहित संसद्‌मा चौथो शक्ति बन्न सफल भयो।  

यसले रविको लोकप्रियता चुलियो। तर, त्यो लामो समय टिक्न पाएन। 

नागरिकता प्रकरणमा मुछिएपछि अदालतको आदेशले उनको सांसद पद गयो। फलस्वरूप चितवन २ मा उपचुनाव हुने भयो।

नागरिकता विवाद सल्ट्याएर उनी फेरि उम्मेदवार बने।

पाँच महिनापछि २०८० वैशाखमा भएको उपचुनावमा रविले पहिलेभन्दा झन् ४ हजार ९ सय ११ बढी मत ल्याउँदै पुन: विजयी भए।

उनले कुल ५४ हजार १ सय ७५ मत पाउँदा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मतमा खुम्चिए। उनलाई चितवनले फेरि गुन लगायो।

त्यही उपचुनावमार्फत चितवनले निलो क्रान्तिको उद्घोष गरेको रास्वपा सचिवालय सदस्य विराजभक्त तर्क गर्छन्।

त्यसपश्चात् गत भदौमा भएको जेनजी आन्दोलनका कारण निर्धारित समयभन्दा २० महिनाअघि नै फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ। 

जसका लागि समानुपातिकमा उम्मेदवार बनाएका नेताहरूको सूची हेर्दा रास्वपाले फेरि पनि चितवनलाई केन्द्रमा राखेको देखिन्छ।

रास्वपाको आधार इलाका नै चितवन भएकाले समानुपातिक उम्मेदवारमा उक्त जिल्लाको वर्चस्व देखिनु स्वाभाविक भएको नेताहरू तर्क गर्छन्। 

समानुपातिक उम्मेदवारको सूची बनाउन उपभासपति स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठलगायत नेताले काम गरेका थिए।

स्वर्णिम र सोविता चितवन सर्ने चर्चा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग एकता गरेपछि केही नेताका निर्वाचन क्षेत्र साटफेर गर्नुपर्ने दबाब बढेको रास्वपा नेताहरूको भनाइ छ। 

त्यसो हुँदा पार्टीका सभापतिसहित केही नेतालाई जिताउने सुरक्षित स्थानका रूपमा रास्वपाले चितवनलाई हेरेको छ। 

पछिल्ला दिन केही चर्चित नेताको मुख्य ध्यान चितवनमै केन्द्रित छ। चुनाव लड्न उनीहरू चितवन जाने मनसायमा छन्। 

‘काठमाडौँ २ छाडेर सोविता गौतम चितवन ३ मा उठ्ने तयारीमा हुनुहुन्छ,’ रास्वपाका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘उपसभापति स्वर्णिम वाग्ले पनि तनहुँ १ छाडेर चितवन १ मा उठ्न खोज्दै हुनुहुन्छ। कसरत जारी छ।’

‘चितवन १ स्वर्णिम वाग्ले, २ रवि लामिछाने र ३ सोविता गौतम हुनसक्ने सम्भावना धेरै छ। त्यही भएर समानुपातिक उम्मेदवार छनोटमा चितवनका बढी परेका हुन सक्छन्’, उनले थपे। 

सोही कारण पछिल्ला दिन सोविताको चितवन बसाइ बाक्लिएको ती नेताले दाबी गरे।

सभापति लामिछानेले पनि बुधबार फेरि चितवनबाटै चुनाव लड्ने बताइसकेका छन्। 

‘मलाई चितवनले जुन माया देखाएको छ, जुन गुन लगाएको छ, हामीले यसलाई परिवर्तनको, निलो क्रान्तिको एउटा उद्‌गम स्थल र परीक्षण केन्द्रका रूपमा हेरिरहेका छौँ,’ उनले भने, ‘चितवन छाड्ने कुरा कसरी सोच्न सकिन्छ? जान्नँ त्यहाँ भन्न मिल्छ र!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad