ग्लोबल


राजकीय सम्मानका साथ खालिदा जियाको अन्तिम बिदाइ

राजकीय सम्मानका साथ खालिदा जियाको अन्तिम बिदाइ

नेपालखबर
पुस १६, २०८२ बुधबार २२:१३, ढाका

बंगलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरेको छ।

राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भिड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो।

सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ। अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उनको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो।

सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए। सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दिनले आफूले कहिल्यै उनलाई मत नदिए पनि तीनपटक प्रधानमन्त्री बनेकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताए।

‘म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम बिदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ’, उनले भने।

शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गरिन्। 

दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताइन्। 

लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाएकी थिइन्। 

जुन निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछि पहिलोपटक हुँदै थियो। 

उनको नेतृत्वमा रहेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ। सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्किएका उनका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ।

‘उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बीएनपी पनि जीवित छ’, अन्त्येष्टि हेर्न परिवारसहित टाढाबाट आएकी जेनी परवेजले भने।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो। संसद् भवन बाहिर ठूलो भिड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो।

युनुसले बंगलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिए।

बेगम खालिदा जियाको पार्थिव शरीर उनका दिवंगत पति, पूर्वराष्ट्रपति जियाउर रहमानसँगै दफन गरिएको छ।

रहमानको सन् १९८१ मा हत्या भएको थियो। तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले ‘आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको’ बताए। उनले आमाले पटकपटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि ‘उनको साहस र दृढता कहिल्यै नटुटेको’ उल्लेख गरे। 

धेरै स्वास्थ्य समस्याबाट ग्रसित बेगम जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो। उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा उनको निधन भएको हो।

यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उनका तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad