पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो।
गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको थियो।
कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो। मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ।
अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई राजीनामा दिन भनेका थिए। गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
यो मुद्दामा गुप्तासँगै पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। श्रेष्ठ भने अदालतमा उपस्थित भएकी छैनन्।
यस्तै कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारी, कास्कीको हेम्जाका सुजनकुमार तामाङ, स्याङ्जाका यामकुमारी गुरुङ, रोल्पाका तुल्सीराम बुढा मगर र कास्कीका खेमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ।
Shares

प्रतिक्रिया