राजनीति


समानुपातिक सूचीप्रति रक्षा बमको असन्तुष्टिः सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र बनाए

समानुपातिक सूचीप्रति रक्षा बमको असन्तुष्टिः सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र बनाए

नेपालखबर
पुस १५, २०८२ मंगलबार २०:४९, काठमाडौँ

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा खुलेकी जेनजी अगुवा रक्षा बमले समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘समानुपातिक सूची देखेर मन खिन्न’ भएको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार परेको र सुदूरपश्चिमबाट दुई जनामात्रै सामेल गरिएकोप्रति उनले असन्तुष्टि प्रकट गरेकी हुन्।

‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो’ उनले लेखेकी छन्, ‘दुखद कुरा चै, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।’

रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेकी रक्षाले उनीहरूको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाएकी छन्।

यद्यपी उनले रास्वपा र रास्वपाका नेताहरूको नाम भने उल्लेख गरेकी छैनन्।

उनले सुदूरपश्चिम राजधानीबाट वर्षौंदेखि अपहेलित रहँदै आएकोमा अहिले पनि अवस्था उस्तै देखिएको उल्लेख गरेकी छन्।
 
उनी लेख्छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’

रक्षा थप्छिन्, ‘यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।’

बालेन रास्वपामा समाहित हुँदा रक्षालाई जेनजीहरूलाई मिलाउने जिम्मा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad