नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन्।
सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूचि बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन? अहम् प्रश्न रहेको उनको भनाइ छ। उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सबै राजनीतिक दलहरूले समानुपातिकको सूचि पठायो पनि। तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन? भन्ने प्रश्न चाहिँ अहं प्रश्न छ। हामी भाग्दैनौँ निर्वाचनबाट। एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ।’
नेता कोइरालाले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए। सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शंका व्यक्त गरे।
उनले भने, ‘समाजमा शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ। प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ। नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ। बुथमा बस्ने भनेको प्रहरी नै हो। प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ। भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा। अर्को कुरा ५ हजार कैदीहरू जसमा सार्फ सुटरहरू पनि छन्, ती भागेका छन्। राज्यले खोज्नुपर्यो। लुटिएका हतियारहरू पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनुपर्छ भन्ने नेपाली कांग्रेसको मात्र होइन सबै दलहरूको माग हो।’
नेता कोइरालाले २३ भदौमा भएको जेन–जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेपनि कम हुने बताए। यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उनको भनाइ छ।
उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे।
यो सब कांग्रेस–एमालेको सरकार हटाउनको लागि मात्र हो त? उनको प्रश्न छ। उनले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरूको निकास निस्कन नसक्ने जिकिर गरे।
Shares

प्रतिक्रिया